सुनसरी, – कोशी प्रदेशको प्रमुख रंगशाला इटहरीलाई अब प्रदेश स्तरीय खेलकुद प्रशिक्षण केन्द्रको रूपमा विकास गरिने भएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पत्रकारहरूसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्।
मन्त्री चौधरीले बताएअनुसार संघीय सरकारले देशभरका ठूला रंगशालाहरूलाई प्रदेश स्तरीय प्रशिक्षण केन्द्रको रूपमा विकास गर्ने रणनीति अन्तर्गत इटहरी रंगशालालाई कोशी प्रदेशको केन्द्रीय प्रशिक्षण केन्द्र बनाइनेछ। यसका लागि संघीय सरकार र प्रदेश सरकारबीच समन्वयका साथ आवश्यक पूर्वाधार तयार पारिनेछ।

हाल संघीय सरकार अन्तर्गत रहेको इटहरी रंगशालालाई चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गरिनेछ। मन्त्रीका अनुसार संघीय सरकार अन्तर्गत रहेका १० वटा रंगशालालाई प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
आगामी आर्थिक वर्षको बजेटमा इटहरी रंगशालालाई स्पष्ट रूपमा बजेट विनियोजन गरिने मन्त्री चौधरीले जानकारी दिए। विशेषतः भौतिक पूर्वाधार मर्मत तथा सुधारका लागि ११/१२ करोड रुपैयाँ विनियोजन गरिनेछ, जसमा इटहरी रंगशाला पनि समावेश हुने छ।
८ विघा क्षेत्रफलमा फैलिएको सुविधा सम्पन्न इटहरी रंगशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता, कराते, तेक्वान्दो लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेका छन्। साथै, नेपाली महिला राष्ट्रिय फुटबल तथा क्रिकेट टोलीको बन्द प्रशिक्षण समेत यही रंगशालामा गरिएको थियो।

तपाईको प्रतिक्रिया