सुनसरी / पूर्वी नेपालमा पहिलोपटक घर निर्माणसम्बन्धी महोत्सव आयोजना हुने भएको छ । यो महोत्सवको उद्देश्य नयाँ घर निर्माणका साथै पुराना संरचनाको मर्मतसम्बन्धी जानकारी, सामग्री र प्रविधि सम्बन्धमा जनचेतना अभिवृद्धि गर्नु हो ।
घर निर्माणमा सहयोग पुर्याउदै आएको स्किल सेवाद्वारा आयोजना गरिने यो महोत्सवमा घर निर्माणसँग सम्बन्धित सामग्री, सेवा, प्रविधि, डिजाईन, ऊर्जा दक्षता, र वातावरणीय सन्तुलनमा आधारित सूचनाहरू प्रस्तुत गरिनेछ। घर बनाउनु जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो, त्यसैले यसको निर्माणमा आवश्यक ज्ञान, दक्षता र योजना आवश्यक पर्ने स्किल सेवाका कोशी प्रदेश सयोंजक सुगन्ध मिश्रले पत्रकर सम्मेलमा जानकारी दिनु भएको हो ।
फेस्टमा निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकला विशेषज्ञ, उद्योगी, विद्यार्थी, तथा अन्य सरोकारवालाहरूको सहभागिता रहनेछ। साथै, विभिन्न कम्पनी तथा व्यक्तिहरूद्वारा घर निर्माणका विविध पक्षहरूमा स्टल र प्रदर्शनीहरू राखिनेछ।
घरको डिजाइन, भूकम्प प्रतिरोधी संरचना, ऊर्जा दक्ष प्रविधि, सामग्रीको गुणस्तर, वातावरणमैत्री निर्माण उपायजस्ता विषयमा जानकारी प्रदान गरिनेछ। सहभागीहरूलाई निर्माणसम्बन्धी परामर्श र सुझाव लिने अवसर पनि मिल्नेछ।
नेपालमा अझै पनि सुरक्षित र टिकाउ घर निर्माणप्रति जनचेतना अभाव रहेको भन्दै, आयोजकहरूले धरान, इटहरी, विराटनगर, दमकलगायत सहरहरूमा यो फेस्ट प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
यो कार्यक्रम इटहरीको रोयल रिसोर्टमा जेठ ३ गते शनिबार सञ्चालन हुनेछ। महोत्सवको समय बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ। महोत्सव अवधिभर विभिन्न प्रदर्शनी र जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
आयोजक संस्थाले यो महोत्सव शहरहरूमा सुरक्षित, वातावरणमैत्री र आधुनिक प्रविधिमा आधारित घर निर्माण संस्कृति विकास गर्न सहयोगी हुने विश्वास व्यक्त गरेको छ।