विराटनगर, मोरङ। नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा भएको स्पष्ट पार्दै त्यसमा कुनै पनि सम्झौता नहुने बताएका छन्। बुधबारदेखि विराटनगरमा सुरू भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले सुरक्षा मजबुती बिना विकास र समृद्धि सम्भव नहुने धारणा राखे।
उनले संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधार नै शान्ति भएको उल्लेख गर्दै भने, “पहिले शान्ति, त्यसपछि मात्र सुशासन, विकास र समृद्धि सम्भव हुन्छ।”
गोष्ठीमा गृहमन्त्री लेखकले अहिले देशले भोगिरहेका प्रमुख सुरक्षा चुनौतीहरूको उल्लेख गर्दै लागू औषधको प्रयोग, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधको वृद्धि चिन्ताजनक बन्दै गएको बताए। ती सबै चुनौतीहरू परस्पर सम्बन्धित भएको उल्लेख गर्दै उनले “निर्ममतापूर्वक सामना गर्नुपर्ने” आवश्यकता औंल्याए।
“दैनिक १७ जनाले आत्महत्या गरिरहेको तथ्याङ्कले गम्भीर सोचको माग गर्छ,” उनले भने।
सेवा प्रवाहमा सुधारको माग
गृहमन्त्री लेखकले प्रशासनिक सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन निर्देशन दिँदै जनताको सेवामा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने बताए। “नागरिक निराश हुँदै छन् भने त्यो तपाईंहरूको कारणले हो,” उनले सरकारी अधिकारीहरूप्रति संकेत गर्दै भने, “सेवाप्रवाहमा सुधार ल्याउनुहोस्।”
शासन प्रणालीको बचाउ गर्दै कठोर टिप्पणी
गृहमन्त्री लेखकले वर्तमान लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि भइरहेका आलोचनाको जवाफ दिंदै भने, “आजको युगमा जन्मको आधारमा शासन गर्ने कुरा सोच्न पनि मिल्दैन। शासन जनताको मत र दक्षताका आधारमा मात्र गर्न पाइन्छ।”
संविधान र व्यवस्था विरोधी गतिविधिहरू कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै उनले राज्यसंयन्त्र र सुरक्षाकर्मीहरूलाई ती गतिविधिप्रति सतर्क रहन निर्देशन दिए।
तस्करी नियन्त्रणमा ३० दिने अल्टिमेटम
सीमा क्षेत्रमा तस्करी अत्यधिक बढेको सूचनाहरू प्राप्त भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले यसको तत्काल नियन्त्रण गर्न निर्देशन दिए। “तस्करीका कारण अपराध बढिरहेको छ, केही मानिस रातारात धनी भइरहेका छन् र राष्ट्रको राजस्व घाटामा परिरहेको छ,” उनले भने।
गृहमन्त्री लेखकले तस्करी नियन्त्रणका लागि सम्बद्ध निकायलाई ३० दिनभित्र प्रभावकारी परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै चेतावनी दिए, “यदि सुधार नभए, गृह मन्त्रालय अर्को चरणको कारबाहीमा जानेछ।”
विपद् व्यवस्थापनमा पनि तयारीको आग्रह
उनले विपद्को पूर्वानुमान गाह्रो भए पनि सजगता, मानसिक तयारी र योजनासहित अगाडि बढ्नुपर्ने धारणा राखे। “विपद् कहिले आउँछ भन्न सकिँदैन, तर तयारी गर्न सकिन्छ,” उनले भने।