सुनसरी / गृहमन्त्री रमेश लेखकले देशभरका कारागारहरूमा देखिएको भीडभाड र अन्य संरचनात्मक समस्यालाई सम्बोधन गर्दै कारागार व्यवस्थापनलाई थप सुव्यवस्थित बनाउने कार्य अघि बढाइएको बताएका छन्।

मंगलवार मोरङ कारागारको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री लेखकले कारागारलाई “सुधार गृह” को रूपमा विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। उनले कैदी तथा थुनुवाको मानवअधिकारको संरक्षणप्रति सरकार गम्भीर रहेकोसमेत स्पष्ट पारे।

“कारागार केवल कैदको थलो मात्र नभई सुधार र पुनर्स्थापनाको केन्द्र हुनुपर्छ,” मन्त्री लेखकले भने, “खुला कारागारको अवधारणा समय सान्दर्भिक बनिसकेको छ।”

२०७८ साल असार २४ गते निर्माण सुरु भएको मोरङ कारागारको नयाँ भवन रु ३५ करोड ४४ लाख ५१ हजारको लागतमा सम्पन्न भएको हो। यस भवनमा पुरुष र महिला सुधार गृहसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको भवन, कारागार प्रशासन, कारागार प्रमुखको आवास, सुरक्षा पोष्ट, सीमा पर्खाल, चेक जाँच कक्ष, आकस्मिक पानी पोखरी, नाला र सडक निर्माण गरिएको छ।

नव निर्मित भवनमा २१८ जना पुरुष र ९९ जना महिलालाई राख्न सकिने क्षमता छ। तर, हाल मोरङ कारागारमा ९३२ जना पुरुष, १०९ जना महिला र ३ जना नाबालकसहित कुल १०४४ जना कैदी तथा थुनुवा रहेका छन्, जसले कारागारमा अत्यधिक भीड भएको स्पष्ट संकेत गर्दछ।

सरकारले सुधार र पुनःस्थापनामूलक कारागार प्रणालीतर्फ ध्यान केन्द्रित गर्दै कारागार सुधार योजनालाई तिव्रता दिने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया