सुनसरी — नेपालमै पहिलोपटक निमकरौली बाबाको मन्दिर तथा धर्मशालाको निर्माण कार्य सुनसरीको ऐतिहासिक धार्मिक स्थल रामधुनी मन्दिर परिसरमा सुरु गरिएको छ। हनुमानका परम भक्त एवं योगी शन्तका रूपमा प्रसिद्ध निमकरौली बाबाप्रति श्रद्धा व्यक्त गर्दै रामधुनी नगरपालिकाको सहयोगमा निमकरौली बाबा सेवा समिति, रामधुनी सुनसरीद्वारा यो भव्य परियोजना अघि बढाइएको हो।

समितिकी उपाध्यक्ष प्रतीक्षा अधिकारीका अनुसार मन्दिर र धर्मशाला निर्माणका लागि अनुयायीहरूबाट चन्दा संकलनमार्फत ७ करोड रुपैयाँको अनुमानित लागतमा निर्माण कार्य अघि बढाइएको छ। आगामी दुई वर्षभित्र मन्दिर तथा धर्मशाला आश्रम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

रामधुनी नगरपालिका कार्यपालिकाको स्वीकृतिपछि मन्दिर परिसरभित्रकै करिब ५ कट्ठा क्षेत्रफलको जग्गा परियोजनाका लागि उपलब्ध गराइएको हो। मन्दिर आधुनिक वास्तुकलामा आधारित हुनेछ भने धर्मशाला आश्रम ३.५ तल्ले हुनेछ, जसले भक्तजनहरूका लागि आवास र साधनाको सुविधा पु¥याउनेछ।

मन्दिरको शिलान्यास कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गरेका थिए। मन्त्री मण्डलले प्रदेश सरकारले धार्मिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएको उल्लेख गर्दै रामधुनी क्षेत्रको दिगो विकासका लागि स्पष्ट योजना बनाएर अघि बढिरहेको जानकारी गराए। शिलान्यास कार्यक्रममा स्थानीय सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिहरू, धार्मिक अगुवा तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस ऐतिहासिक पहलले न केवल धार्मिक आस्थालाई बल पु¥याउनेछ, तर रामधुनी क्षेत्रलाई आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया