
इटहरी / शनिबार सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटानी चोकमा दाउरा बोकेको पिकअप भ्यान दुर्घटना हुँदा त्रियुगा नगरपालिका–८ राजाबासका ३० वर्षीय प्रहरी सहायक निरीक्षक (असई) बिरोध खतिवडाको निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ गइरहेको प्र.२–०१–००१च ०२५१ नम्बरको पिकअप भ्यान दिउँसो ११:५० बजे इटहरी–विराटनगर सडकखण्डमा सडकछेउको फलामे रेलिङमा ठोक्किँदा दुर्घटना भएको थियो।
गम्भीर रूपमा घाइते भएका खतिवडालाई तत्काल उद्धार गरी बिराटनगरको बिराट टिचिङ अस्पतालमा पुर्याइएको थियो। उपचारकै क्रममा १२:२१ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
उदयपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत असई खतिवडा सामाजिक सञ्जालमा निकै लोकप्रिय थिए। उनले मायोटोनिक डिस्ट्रफी नामक दुर्लभ र गम्भीर स्नायु रोगसँग लड्दै आशावादी सोच र साहसिक जीवनशैलीमार्फत रोगमाथि विजय हासिल गरिरहेका थिए।
प्रेरणादायक संघर्षको कथा
दुई हप्ता अघि मात्र उनले सामाजिक सञ्जालमा आफ्ना भावनात्मक अनुभवहरू लेखेका थिए। उनले लेखेका थिए:
“उदयपुरको सानो गाउँमा जन्मिएको म, मध्यम वर्गीय किसान परिवारको छोरो। देशसेवा गर्ने ठूलो रहर थियो, संघर्षपछि नेपाल प्रहरीमा भर्ती भएँ। तर जागिर खाएको तीन वर्षमै शारीरिक कमजोरी महसुस हुन थाल्यो—नसा र मांसपेशी सुस्ताउन थाले। चिकित्सकले भने, ‘यो लाइलाज जस्तो हो।’
त्यसपछि जीवन अन्धकारमा डुब्यो। आत्मबल हरायो। मानसिक रूपमा कमजोर हुँदै गएँ। तर दशैंमा योग अभ्यास गर्दै आउनुभएका एक मित्रसँग भेट भयो। उहाँको सल्लाहमा मैले ध्यान गर्न थालेँ।
सुरुमा गाह्रो भयो। तर मैले छोडिनँ। हरेक बिहान म योग गर्न थालेँ। शरीरजस्तो नभए पनि, मनमा अब शान्ति थियो। अब म प्रेरणा बन्न चाहन्थेँ। म भन्न चाहन्थेँ — ‘जब जीवनले घुँडा टेकाउँछ, योग फेरि उठ्न सिकाउँछ।’
म पुलिस हुन चाहन्थेँ, तर अब म आत्माको प्रहरी बनेको छु।”
दुर्भाग्यवश, उनीले मायोटोनिक डिस्ट्रफीलाई जित्न लागेका थिए, तर जीवनको अर्को मोडमा सडक दुर्घटनासँगको लडाइँ हार्नुपर्यो।
सोही दुर्घटनामा उनीसँगै रहेका चालक उदयपुर चौदण्डीगढी–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्कीलाई सामान्य चोटपटक लागेको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
श्रद्धाञ्जली — एक प्रहरी मात्र होइन, आत्मबलका प्रहरी
बिरोध खतिवडा न त केवल एक प्रहरी थिए, न केवल एक रोगीसँग लड्ने वीर। उनी आत्मबल, साहस, प्रेरणा र परिवर्तनका प्रतीक थिए। उनको स्मृति सधैं प्रेरणादायी रहनेछ।





