खोटाङ साकेलामा भौतिक पूर्वाधार मन्त्रीको भ्रमण विवादमा, बजेट विभाजनप्रति असन्तुष्टि
विराटनगर /कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईको खोटाङको साकेला गाउँपालिकामा तय गरिएको कार्यक्रम स्थानीय अध्यक्षको विरोधका कारण अवरुद्ध भएको छ।
मन्त्री राई आज बिहान कार्यकर्ता भेटघाट कार्यक्रमका लागि साकेला गाउँपालिका पुगेका थिए। तर, गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले मन्त्रीको भ्रमण रोकेका छन्। अध्यक्ष राईका अनुसार कार्यक्रम आयोजना गर्नु पूर्व गाउँपालिकासँग कुनै समन्वय गरिएको थिएन, न त सूचना पठाइएको थियो।
अध्यक्ष राईले मन्त्री राईमाथि गाउँपालिकाको बजेट कटौती गरी अन्य पालिकामा स्थानान्तरण गरिएको आरोप लगाउँदै, विकास निर्माणमा साकेलालाई बेवास्ता गरिएको गुनासो राखेका छन्। सार्वजनिक भएको भिडियोमा उनले भनेका छन्, “अर्को बाटो काटियो र पैसा दिक्तेलमा हालियो। आउँदो बजेटमा राख्नुस्, शिलान्यास–उद्घाटनमा बोलाउनु हुन्छ, तर अहिले आउनुहुन्न भनेका थियौं। जबरजस्ती आउनुभयो, त्यसैले रोकेको हुँ।“
उनको भनाइअनुसार, मन्त्रीको आगमनबारे कुनै आधिकारिक जानकारी नआएको, फोन वा पत्र केही पनि प्राप्त नभएको हो। “मन्त्री आउनुहुन्छ कि भनेर कुरिरहें, तर उहाँ पालिकाको कार्यालयमा समेत आउनुभएन,” अध्यक्ष राईले भने।
घटनापछि जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेले स्थिति तनावपूर्ण हुनसक्ने भन्दै प्रहरी परिचालन गरिएको जानकारी दिए। लामो छलफलपछि विवाद समाधान गरिएको उनको भनाइ छ, तर उनले घटनाको विस्तृत विवरण दिन मानेनन्।
उल्लेखनीय छ कि मन्त्री भूपेन्द्र राई र अध्यक्ष रवि प्रकाश राई दुवै सत्तारूढ दलका नेता हुन्। तर, बजेट बाँडफाँट र कार्यक्रम समन्वयको अभावले उनीहरूबीच चर्किएको मतभेद सार्वजनिक भएको छ।
यस घटनाले स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय अभाव, बजेट पारदर्शितामा प्रश्न उठाउनुका साथै सत्तारूढ दलभित्रको आन्तरिक असन्तुलनलाई पनि उजागर गरेको देखिन्छ।