इटहरी /भारत र पाकिस्तानबीच पछिल्लो समय तीव्र बनेको कूटनीतिक र सुरक्षासम्बन्धी तनावको छायाँ नेपाल–भारत सीमा क्षेत्रमा समेत परेको देखिएको छ। विशेषतः पूर्वी नेपालका सिमावर्ती जिल्ला सुनसरीमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। सुनसरीको ६२ किलोमिटर खुला सिमाना क्षेत्रको सुरक्षा व्यवस्थामा हाल व्यापक परिवर्तन र निगरानी देखिएको छ।

सुनसरीको कोसी ब्यारेजदेखि अमडुवा हुँदै भारतको सुपौल र अररिया जिल्लासँग जोडिएका नाका तथा आसपासका बस्तीहरूमा नेपाली सुरक्षाकर्मीहरूको व्यापक परिचालन गरिएको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रका अनुसार, सीमामा कुनै पनि अवाञ्छित गतिविधि भएमा तुरुन्त कारबाही गर्न निर्देशन दिइएको छ।

स्थलगत निरीक्षण र उच्चस्तरीय निगरानी

सुरक्षा अवस्थाको स्थलगत अवलोकन गर्न प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू तथा अन्य सुरक्षाधिकारीहरूको टोलीले सीमामा खटिएका सुरक्षापोष्टहरूको निरीक्षण गरेको छ।

निरीक्षणकै क्रममा इनरुवा–८ निवासी जाविर हुसेन मियाँलाई नकली नेपाली प्रहरीको परिचयपत्र प्रयोग गरी भारत प्रवेश गर्न खोजेको आरोपमा पक्राउ गरिएको छ। जिल्ला प्रहरी प्रमुख तिम्सिनाका अनुसार, सीमामा यस्ता गतिविधिहरू रोक्न उच्च सतर्कता अपनाइएको छ।

सुरक्षा व्यवस्थामा व्यापक सुधार

सुनसरीको खुला सीमावर्ती क्षेत्रमा नेपाल प्रहरीका १३ र सशस्त्र प्रहरी बलका ११ स्थायी युनिटहरू खटिएका छन्। हाल अस्थायी रूपमा थप ११ सुरक्षायुनिट स्थापना गरिएको छ, जसले सीमावर्ती क्षेत्रमा सुरक्षालाई चुस्त राख्न सहयोग पुर्याइरहेका छन्। भारतीय पक्षबाट समेत तालिम प्राप्त सुराकी कुकुर परिचालन गरिएकाले सीमा निगरानी थप प्रभावकारी बनेको छ।

सीमा पार गर्नेमा कडाइ

सीमा क्षेत्र हुँदै नेपाल–भारत आवतजावत गर्ने व्यक्तिहरूका लागि अब सरकारी परिचयपत्र अनिवार्य गरिएको छ। साथै, ती व्यक्तिहरूको विस्तृत विवरण सुरक्षानिकायमा अभिलेख राख्ने व्यवस्था मिलाइएको छ। यसले सीमा सुरक्षामा पारदर्शिता र निगरानी क्षमता बढाएको छ।

नेपाल र भारतबीचको ऐतिहासिक खुला सीमालाई चुनौती दिने खालका गतिविधिहरूलाई नियन्त्रण गर्ने सन्दर्भमा यो कदमलाई एक महत्वपूर्ण सुरक्षा उपायको रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया