विराटनगर /जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको परिसरमा आयोजित एक कार्यक्रममा ट्राफिक प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरे एक्कासि लडेर बेहोस भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका प्रमुख एसपी घिमिरे बिहीबार दिउँसो करिब २ बजे मोरङ अन्तर्गतका सबै ट्राफिक पोस्ट इञ्चार्जहरूलाई निर्देशन र ब्रिफिङ दिइरहेका थिए। उक्त कार्यक्रम चलिरहेको समयमा उनी एक्कासि लडेर बेहोस भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
प्रहरी स्रोतका अनुसार तत्कालै चिकित्सकीय सहायता उपलब्ध गराउँदै घिमिरेलाई नजिकैको अस्पतालमा पुर्याइएको छ। प्रारम्भिक जानकारी अनुसार अत्यधिक गर्मी र थकानका कारण स्वास्थ्यमा समस्या देखिएको हुनसक्ने अनुमान गरिएको छ। हाल उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
कार्यक्रममा सहभागी प्रहरी अधिकारीहरू घटनाबाट स्तब्ध भएका थिए भने केही समयका लागि ब्रिफिङ स्थगित गरिएको थियो।