काठमाडौं, २५ वैशाख — चोटपटकपछि ‘बेड रेस्ट’ मा रहेका माओवादअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग सक्रिय राजनीतिक छलफलमा जुटिरहेका छन्। नयाँ गठबन्धन निर्माणका लागि भइरहेको यो संवादले सत्तारूढ गठबन्धनमा दरार पैदा गरेको छ।
राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे कांग्रेस र एमालेबीच सहमति नजुट्दा आर्थिक क्षेत्र नेतृत्वविहीन भएको दुई महिना पुग्न लागिसकेको छ। यसैबीच, प्रधानमन्त्री ओलीले गभर्नर आफैं नियुक्त गर्ने संकेत दिएका छन् भने कांग्रेस सभापति देउवा असहज देखिएका छन्।
ओली भारतसँग सम्बन्ध नजोडिनुमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दोषी मानिरहेका छन्। यसै कारण उनी कांग्रेससँग असन्तुष्ट छन्। अर्कातर्फ, प्रचण्डले ओलीसँग सत्ता साझेदारी र पार्टी एकताको प्रस्ताव गर्दै छलफल अगाडि बढाइरहेका छन्।
ओली पनि माओवादीसँग सहकार्यमा मात्र होइन, एकताको दिशामा समेत सकारात्मक देखिएका छन्। तर, नेकपा (एस) अध्यक्ष माधव नेपाललाई समावेश गर्ने विषयमा ओली सशंकित छन्। उनले नेपाललाई दबाबमा राख्न पतञ्जली जग्गा प्रकरणको मुद्दा प्रयोग गर्ने रणनीति बनाएको स्रोत बताउँछ।
यस राजनीतिक असमझदारीबीच सरकारको स्थायित्व र बजेट प्रक्रियामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।





