काठमाडौँ /नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरमा नभई ललितपुरको लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेका हुन् भन्ने तथ्य खुलेको छ।

प्राप्त गरेको जानकारी अनुसार, मंगलबार साँझ अध्यक्ष प्रचण्ड आफ्नी छोरी, ज्वाइँ र केही नजिकका आफन्तहरूसँग टेरेस रिसोर्ट पुगेका थिए। उनीहरू त्यहाँ रात बिताउन गएका थिए।

मंगलबार मध्यराततिर प्रचण्ड लडेका थिए र त्यसपछि तुरुन्तै उनलाई मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार, उनलाई राति करिब २ बजे ल्याइएको थियो र प्रारम्भिक उपचारपछि बिहान ४:३० तिर डिस्चार्ज गरिएको हो।

उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ भने हालको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

उनकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत बुवाको स्वास्थ्यबारे जानकारी दिँदै बाथरूममा चिप्लिएर निधारमा सामान्य चोट लागेको बताएकी थिइन्। यद्यपि, उनले कहाँ लडेको भन्ने भने उल्लेख गरेकी थिइनन्, जसका कारण धेरैले प्रचण्ड घरमै लडेको ठानेका थिए।

लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्ट काठमाडौं उपत्यकाको महँगा रिसोर्टमध्ये पर्दछ। रिसोर्टको वेबसाइट अनुसार, त्यहाँ सामान्य कोठाको भाडा प्रति रात ३१,७२५ रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया