इटहरी उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत मीन बहादुर भट्टराईले औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव भट्टराईलाई इटहरीमा पठाएको हो। नगर प्रमुख हेमकर्ण पौडेलले स्वागत गर्दै उनलाई प्रशासनिक जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
यसअघि लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत भट्टराईको आगमनसँगै इटहरीमा लामो समयदेखि देखिएको आर्थिक गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ। इटहरी उपमहानगरमा पछिल्ला केही महिनायता बजेट कार्यान्वयनमा ढिलाइ, विकास आयोजनाहरू स्थगित हुनु, र विभिन्न सेवा तथा पूर्वाधार निर्माणमा अवरोध देखिएको थियो।
नगरपालिकाले ठेकेदार, आपूर्तिकर्ता र कर्मचारीहरूलाई समयमै भुक्तानी गर्न नसकेको कारण असन्तोष बढ्दै गएको थियो। विशेषगरी, शिक्षाको बजेट, सरसफाइ सेवा, सडक मर्मत र सामाजिक सुरक्षा भत्ता वितरण जस्ता आवश्यक सेवाहरूमा समेत असर परेको थियो।
पूर्वप्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको सरुवापछि आएका हेमराज भुसालको छोटो कार्यकालले समेत प्रशासनमा स्थायित्व आउन सकेन। यसले आर्थिक निर्णय प्रक्रियामा अन्योलता र ढिलाइ थप गरेको थियो।
अब भट्टराईको नेतृत्वमा प्रशासनिक स्थायित्व कायम भई नगरको आर्थिक प्रणाली नियमित हुने, रोकिएका भुक्तानीहरू सुचारु हुने र पूर्वाधार निर्माणको गति फेरि बढ्ने स्थानीयवासी र सरोकारवालाहरूको अपेक्षा छ।