इटहरी / सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. १० स्थित साथी पेट्रोल पम्प अगाडि धारिलो हतियार प्रहारबाट एक व्यक्ति घाइते भएका छन्।

शनिबार बिहान करिब ८.३० बजे रामधुनी नगरपालिका वडा नं. ९ निवासी र हाल इटहरी उपमहानगरपालिका वडा नं. ९ मा बसोबास गर्दै आएका ४२ वर्षीय ज्ञानचन्द्र चौधरीमाथि अन्दाजी २६–२७ वर्षीय भरत साहले धारिलो हतियार प्रहार गरेका थिए। भरत साह इटहरी निवासी प्रह्लाद साहका छोरा हुन्।

घटनामा चौधरीको घाटीमा गहिरो चोट लागेको थियो। उनलाई तुरुन्तै इटहरीस्थित सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो। बोल्न सक्ने अवस्थामा रहेका घाइते चौधरीको अवस्था मध्यम रहेको जनाइएको छ। चिकित्सकीय उपचारपश्चात साँझ करिब ५ बजे उनलाई डिस्चार्ज गरिएको हो।

इलाका प्रहरी कार्यालय इटहरीलाई बिहान ९.३० बजे चौधरीका आफन्तमार्फत घटनाको जानकारी गराइएको थियो। जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक महेन्द्र पराजुलीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो र घटनाको अनुसन्धान सुरु गरिएको छ।

तपाईको प्रतिक्रिया