इटहरी /इटहरी उपमहानगरपालिका पछिल्लो समय ‘हाकिमविहीन’बनेको छ। प्रमुख प्रशासकीय अधिकृतको स्थायित्व नहुँदा नगरको आर्थिक,प्रशासनिक र विकास निर्माणसम्बन्धी काम ठप्प भएको छ।

गत फागुन २१ गते आएका प्रमुख प्रशासकीय अधिकृत हेमराज भुसालले चैत २४ मै काठमाडौँ सरुवा मिलाएका छन्। एक महिनामै सरुवा प्रक्रिया थालेपछि नगरमा अनिश्चितता उत्पन्न भएको हो। हाल नगरमा १५ दिनदेखि प्रशासकीय नेतृत्व शून्य बनेको छ।

लेखा अधिकृत विकास पोख्रेलका अनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा आवश्यकीय भुक्तानी, योजना कार्यान्वयन र कार्यालय सञ्चालनमा गम्भीर असर परेको छ। ” उपभोक्ता हरूले पाउनुपर्ने भुक्तानी समेत रोकिएको छ,” पोख्रेल भन्छन्, “विनियोजित रकम प्रयोग हुन सकेको छैन।”

सेवाग्राही रोशन राईको भनाइमा वडाबाट पास भएका योजनाहरूको भुक्तानीसमेत रोकिँदा स्थानीय तहमा जनताले सिधा असर भोग्नुपरेको छ।

तालमेल अभाव र आन्तरिक किचलोको असर

कर्मचारी स्रोतहरूका अनुसार नगर प्रमुख हेमकर्ण पौडेल, उपप्रमुख सङ्गीता चौधरी र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसमन्वय अभावका कारण इटहरीमा बसेर काम गर्न कर्मचारी हिच्किचाउने गरेका छन्। भित्रभित्रैको आन्तरिक किचलो र कार्य सम्पादन मूल्याङ्कनमा नगरको कमजोर प्रदर्शनले पनि असर परेको बताइन्छ।

यता भुसाल भने सरकारको निर्णयअनुसार आफू सरुवा भएको बताउँछन्। “काम गर्न चाहन्थेँ, तर सरकारको निर्णय मान्नैपर्छ,” उनी भन्छन्, “उपमहानगरसँग कुनै व्यक्तिगत विवाद छैन।”

नगर प्रमुख हेमकर्ण पौडेलले भने यस्ता आरोपहरू अस्वीकार गरेका छन्। “यहाँ जो आउनुहुन्छ, उहाँलाई काम गर्न सहयोग गर्ने वातावरण बनाइन्छ,” पौडेलको भनाइ छ, “कुनै काम अवरोधमा पर्ने छैन।”

तर उपप्रमुख चौधरी भने प्रमुख प्रशासकीय अधिकृत नहुँदा तीन महिनामै सकिँदै गरेको आर्थिक वर्ष र आगामी वर्षको बजेट तयारीमा गम्भीर चुनौती देखिन्छ भन्छिन्। “सम्बन्धित मन्त्रालयसँग पहल भइरहेको छ,” उनले बताइन्।

निष्कर्ष

स्थायीत्वको अभाव र तालमेलको कमजोरीले इटहरी उपमहानगरलाई सुसंस्कृत प्रशासनिक अभ्यासबाट टाढा पुर्‍याइरहेको छ। समयमै नेतृत्व नभए नगरको विकास गति अझै सुस्त हुनसक्छ।

 

तपाईको प्रतिक्रिया