सुनसरी जिल्लाको इटहरीमा शनिबार राति भएको एक भीषण कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया क्षेत्रमा राति करिब ११ बजे तीव्र गतिमा आइरहेको कार अनियन्त्रित भई सडक किनारको जामुनको रूखमा ठोक्किएको हो। दुर्घटनामा परी इटहरी–१ निवासी ४० वर्षीय विष्णु राउत गम्भीर घाइते भएका थिए। उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त कारमा चालकसहित चार जना सवार थिए। दुर्घटनामा कार चालक रामधुनी नगरपालिका–७ निवासी ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन्। उनीहरूको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ।
सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, कार धरानबाट इटहरीतर्फ आउँदै गर्दा तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनामा संलग्न प्र–०१–०३० च ४६१८ नम्बरको कार पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीको भनाइ छ।
दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।