सुनसरी — सुनसरीको टेँग्राधामस्थित कचना मन्दिरमा प्रत्येक वर्ष बैशाख ३ गते आयोजना हुने ‘बैगुने मेला’मा यस वर्ष पनि भक्तजनको ठूलो घुँईचो लागेको छ। बैगुनको भार र फूलघडा चढाउने परम्पराले चिनिएको यस मेलामा बिहानैदेखि श्रद्धालुहरूको लामो लाइन लागेको थियो। अघिल्लो साँझदेखि नै पूजाका सामग्रीसहित भक्तजनहरूको आगमन सुरु भएको थियो।
जनविश्वास अनुसार, कचना मन्दिरमा बैगुन चढाउँदा शरीरमा भएका मुसा, घाउ–खटिरा तथा छालासम्बन्धी विभिन्न रोगहरू निको हुने विश्वास रहँदै आएको छ। शरीर स्वस्थ होस्, रोगहरू हटून् भन्ने कामनासहित भक्तजनहरूले भाकल गर्ने र भाकल पुरा भएपछि बैगुनको भार, फूलघडा तथा पानसुपारी चढाउने प्रचलन रहेको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोसन तामाङका अनुसार, भीडको व्यवस्थापनका लागि विशेष तयारी गरिएको छ। बिहानको समयमा अत्यधिक भिड हुने भएकाले भक्तजनलाई लाइनमा राखेर पूजाको व्यवस्था मिलाइएको जानकारी उनले दिए।
यस मन्दिरलाई तराई क्षेत्रका आदिवासी थारु समुदायले ‘थान’ को रूपमा विशेष श्रद्धा गर्छन्। बैशाख १ गतेदेखि सुरु हुने ‘सिरुवा’ पर्वलाई सिरुवा धामको रूपमा मनाइन्छ। ग्रामथान संरक्षण समिति, कोशी प्रदेशका अध्यक्ष तेजनारायण चौधरीका अनुसार, थारु समुदायले पूर्वजहरूको सम्झनामा बैगुनको भार, फूलघडा र पानसुपारी चढाएर पूजा गर्ने परम्परा पुर्याउँदै आएका छन्।
मेलाको मुख्य आकर्षणमध्ये ‘जुलवी’ विशेष रूपमा लोकप्रिय छ। मेलामा सहभागीले अन्नी, धानको भूजा, जुलेबी, मिठाई लगायतका परिकारहरू स्वाद लिने र कोशेलीका रूपमा घर लैजाने चलन रहेको छ।