सुनसरी / धरान उपमहानगरपालिका वडा नं. १३ आपगाछीस्थित अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले ठूलो मात्रामा लागू औषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको अटोमा सवार व्यक्तिहरू लागू औषध गाँजासहित फेला परेका हुन्। मिति २०८२ साल वैशाख २ गते राति ११ बजे चेकजाँचको क्रममा उक्त अटोलाई शंका लागी जाँच गर्दा कालो रंगको दुईवटा झोलामा सेतो प्लास्टिकले प्याक गरिएको १८ पोकामा १९ केजी गाँजा फेला परेको हो।

अटो चालक धरान उपमहानगरपालिका–४ निवासी ४८ वर्षीय जोक बहादुर राई, उनका छोरा ३० वर्षीय सुमन राई र धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–३ निवासी ३६ वर्षीय सुरज लिम्बुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले अटो सवारी साधनसहित बरामद गाँजालाई आवश्यक कारबाहीका लागि सुरक्षित राखिएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया