इटहरी: सुनसरीको सीमावर्ती देवानगन्ज गाउँपालिका–७ मा   भारतीय मोटरसाइकलमा आएका समूहले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्।

भारतीय नम्बर प्लेट भएको पल्सर २२० सिसीको मोटरसाइकलमा आएका तीन जनाको समूहले २६ वर्षीय शिवु कुमार मेहता, पिन्टु यादव र २४ वर्षीय रवीन्द्र यादवमाथि गोली प्रहार गरेका थिए। गोली लागेर शिवु कुमार मेहता गम्भीर घाइते भएका छन्। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।

प्रत्यक्षदर्शीका अनुसार गोली शिवु कुमारलाई मात्र लागेको हो भने पिन्टु र रवीन्द्र मोटरसाइकलबाट लडेर सामान्य घाइते भएका हुन्।

घटना देवानगन्ज–१ रासी भन्ने स्थानमा साँझ ६:४५ बजे भएको हो। जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ र गोली प्रहार गर्ने मध्ये एक जना भारतीय नागरिक भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

देवानगन्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले सुरक्षाका लागि सीमा क्षेत्रमा प्रहरी परिचालन गरिएको र घटनामा संलग्नको खोजी भइरहेको जानकारी दिए। घटनास्थलबाट तीन राउन्ड गोलीको खोका पनि बरामद गरिएको छ।

 

तपाईको प्रतिक्रिया