खनार / खनार युवा क्लबद्वारा आयोजित पहिलो खनार भेट्रान फुटबल प्रतियोगिताको उपाधि विराट बुद्ध भेट्रानले जितेको छ। इटहरी–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा विराट बुद्धले सुन्दर हरैचालाई २–० ले पराजित गर्दै उपाधि उचालेको हो।
खेलको सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेको विराट बुद्धका जर्सी नम्बर ८ का मदनजङ्ग राईले पहिलो १५ मिनेटमै दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले पूरै प्रतियोगिता अवधिभर ३ गोल गर्दै हाइ स्कोररको उपाधि जिते मात्र होइन, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए।
उपाधिसहित विराट बुद्ध भेट्रान्सले ट्रफी र नगद ५० हजार रुपैयाँ हात पार्यो भने उपविजेता बनेको सुन्दर हरैचा भेट्रानले ट्रफी र ३० हजार रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य खेलाडीहरूमा विराट बुद्धका विश्वबन्धु बोहरा ‘वेस्ट गोलकिपर’, संजीव बुढाथोकी ‘वेस्ट डिफेन्डर’ घोषित भए। सुन्दर हरैचाका बलबहादुर गुरुङ (जर्सी नम्बर ५) ‘वेस्ट मिडफिल्डर’ घोषित भए। यस्तै, विराट बुद्धका प्रशिक्षक मनोज मरिकलाई ‘उत्कृष्ट प्रशिक्षक’ को उपाधि प्रदान गरियो।
खेलको समापन कार्यक्रममा खनार युवा क्लबका अध्यक्ष नेमलाल चौधरीले प्रतियोगिताले स्थानीय स्तरमा खेलप्रतिको पुरानो आकर्षण पुनर्जीवित गर्न सफल भएको बताएका छन्। साथै, प्रतियोगितालाई सफल बनाउन योगदान दिने सबैलाई उनले हार्दिक धन्यवाद ज्ञापन गरे।
यो प्रतियोगिता खनार क्षेत्रको खेलकुद प्रवर्द्धनका लागि एक ऐतिहासिक कदमको रूपमा स्मरणीय बन्न पुगेको छ।