इटहरी / खनार युवा क्लबको आयोजनामा सञ्चालित ‘पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१’ अन्तर्गत शनिबार मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितालाई थप रोमाञ्चक बनाउन आयोजकले भेट्रान खेलको फाइनल आइतबार सार्दै आज महिला खेल आयोजना गरेको थियो। महिला फुटबल प्रतियोगितामा सुनसरी ११ ले मोरङ ११ लाई २–० ले पराजित गर्दै शानदार जित हात पारेको छ।
खेलको प्रारम्भमै सुनसरीका तर्फबाट जुनु राईले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसपछि सुदिक्षा लिम्बुले अर्को गोल गर्दै टोलीको जित सुनिश्चित गरिन्। यद्यपि दुवै टोलीले उत्कृष्ठ प्रदर्शन गरे पनि सुनसरीले सुरुआती अग्रता कायम राख्न सफल भयो।
प्रतियोगिता इटहरी–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना भइरहेको छ। प्रतियोगितामा सुनसरी र मोरङ जिल्लाका आठवटा भेट्रान टिमहरूको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता टोलीले नगद रु ५०,००० र उपविजेताले रु ३०,००० प्राप्त गर्ने क्लब अध्यक्ष नेमलाल चौधरीले जानकारी दिएका छन्।
आइतबार फाइनल खेल मोरङको विराट बुद्ध भेट्रान र सुन्दर हरैचा भेट्रानबीच हुने आयोजकले जनाएको छ।