खनार — राति हुने साइकल दुर्घटनालाई न्युनिकरण गर्न नेपाल ट्राफिक प्रहरीले नयाँ कदमस्वरूप साइकलमा प्रतिविम्बित स्टिकर टाँस्ने अभियान सुरु गरेको छ। रातिको समयमा सवारी साधनको बत्ती परेपछि टल्किने यी स्टिकरहरूले साइकलयात्रीहरूलाई सजिलै देखिने बनाउने, र सम्भावित दुर्घटनाबाट जोगाउने विश्वास गरिएको छ।

नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, कोशी प्रदेशका प्रहरी निरीक्षक राजु निरौलाले बिहीबार खनारमा आयोजित एक कार्यक्रममा सो अभियानको सुरुआत गर्नु भयो। कार्यक्रमको क्रममा करिब १ सय साइकलहरूमा अगाडि र पछाडि स्टिकर टाँसिएको थियो।

खनार ट्राफिक प्रहरी कार्यालयका प्रमुख असई राजाराम यादवका अनुसार यो अभियान निरन्तर रूपमा अघि बढाइनेछ। “यस क्षेत्रमा सयौं मजदुरहरू उद्योगहरूमा काम गर्न साइकलको प्रयोग गर्छन्। उनीहरूको सुरक्षाका लागि यो अभियान अत्यन्तै उपयोगी हुनेछ,” यादवले बताए।

स्थानीय स्तरमा सञ्चालन गरिएको यो पहलले रातिको समयमा साइकल प्रयोगकर्ताहरूको सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ

तपाईको प्रतिक्रिया