झापा, काठमाडौंमा चैत्र १५ गते सम्पन्न राजावादी आन्दोलनमा हिंसा भड्काएको आरोपमा फरार रहेका दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्। उनी केही समयदेखि भारतीय राज्य आसामको गुवाहाटी क्षेत्रमा लुकेर बसेका थिए।
नेपाली सुरक्षा निकायले प्रसाईंको लोकेशन ट्र्याक गरी भारतीय प्रहरीले जानकारी दिएपछि बिहीबार साँझ उनी नियन्त्रणमा लिइएका थिए। त्यही साँझ उनलाई आसामबाट नेपालतर्फ पठाइएको हो।
प्रहरी स्रोतका अनुसार, प्रसाईं झापा हुँदै भारत पसेका थिए र सिलिगुडीस्थित त्रिमुल कांग्रेसका एक नेताको घरमा आश्रय लिएका थिए। तर त्यही सेल्टर पत्ता लागेपछि उनी भाग्दै आसाम पुगेका थिए र त्यहीँ पक्राउ परे।
सेल्टर फेला परेपछि उनले सामाजिक सञ्जालमार्फत एउटा भिडियो सार्वजनिक गर्दै आफू नेपालमै रहेको र सुरक्षा सुनिश्चित भए तुरुन्तै सार्वजनिक हुने बताएका थिए।
सुपुर्दगी सन्धि नहुँदा सरकार संकटमा
नेपाल र भारतबीच औपचारिक सुपुर्दगी सन्धि नभएकाले दुर्गा प्रसाईंलाई पक्राउ गर्नु कानुनी दृष्टिले जटिल रहेको बताइन्छ। यस्तो अवस्थामा एक देशको प्रहरीले अर्को देशमा पक्राउ गर्न कानुनी अधिकार राख्दैन।
यद्यपि, सीमावर्ती क्षेत्रमा आपसी सहकार्य र ‘अनौपचारिक हस्तान्तरण’को अभ्यास चलिआएको छ, जसलाई दुवै देशले औपचारिक रूपमा स्वीकार गर्दैनन्।
यसैबीच, बिहीबार राति विभिन्न सञ्चारमाध्यममा प्रसाईं भारतबाट पक्राउ परेको समाचार सार्वजनिक भएपछि नेपाल प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको थियो। समाचार चुहावटका कारण सुरक्षा संयन्त्र र सरकार दुवैलाई असहज स्थिति उत्पन्न भएको स्रोतको दाबी छ।
काठमाडौं ल्याउने तयारी
प्रसाईंलाई विशेष प्रहरी टोलीले काँकडभिट्टा नाकाबाट नेपाल भित्र्याइसकेको जनाइएको छ। उनलाई झापाबाट विमानमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ। काठमाडौं ल्याएपछि उनीमाथि विभिन्न मुद्दामा अनुसन्धान अघि बढाइने बताइएको छ।