काठमाडौं – चैत्र १५ गते काठमाडौंको तिनकुनेमा आयोजित राजावादी आन्दोलनमा भएको झडपपछि भूमिगत भएका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो ज्यानको सुरक्षाका लागि भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
उक्त दिन भएको आन्दोलनमा नेपाल प्रहरीको गोलीबाट २० भन्दा बढी नागरिक घाइते भएका थिए भने प्रदर्शनमा सहभागी एकजना र एक पत्रकारको ज्यान गएको थियो। घटनापछि सुरक्षाको चिन्तामा रहेका प्रसाई केही समयदेखि भूमिगत जीवन बिताइरहेका थिए।
राज्यद्वारा शोषित र पीडित नागरिकहरूको पक्षमा आवाज उठाउँदै आएका प्रसाई संयुक्त जनआन्दोलन समिति र राजावादी आन्दोलनको कमाण्डर समेत रहेका थिए। आन्दोलनलाई नेतृत्व दिँदै आएका प्रसाईमाथि राज्यले पक्राउ पुर्जी जारी गरेपछि उनी नेपालबाट बाहिरिएका थिए।
विश्वस्त स्रोतका अनुसार प्रसाईले आज आसाम प्रहरीसँग सम्पर्क गर्दै आफ्नो ज्यानको सुरक्षाका लागि पक्राउ दिनु परेको बताएका छन्। भारतको आसाम प्रहरीले उनलाई औपचारिक रूपमा नियन्त्रणमा लिएर आजै काकरभिट्टाको कोशी प्रदेश प्रहरीमा बुझाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
यसबीचमा आन्दोलनको क्रममा भएको हिंसा, प्रहरी हस्तक्षेप र दुर्गा प्रसाईको भूमिगत जीवनमाथि न्यायिक छानबिनको माग चुलिँदै गएको छ।
नेपाल ल्याउने प्रक्रिया तीव्र पारिएको र आजै उनी नेपाल फिर्ता गरिने सम्भावना उच्च रहेको खबर छ।