इटहरी — इटहरी–१२ खनारका समाजसेवी सुरेन्द्रप्रसाद वास्तोलाले इटहरीमा स्थापना गरिएको मंगल राधिका सदानन्द प्रणामी अस्पताललाई एक लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालको संरक्षकत्वमा निर्माण भएको यस अस्पतालमा आजीवन सदस्यता समेत ग्रहण गर्दै वास्तोलाले महत्वपूर्ण योगदान पुर्याएका हुन्।
उक्त योगदानको उच्च कदर गर्दै प्रतिष्ठानका अध्यक्ष हेमप्रसाद घिमिरेले एक विशेष समारोहमा उनलाई सम्मानपत्र प्रदान गरेका थिए। कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरू तथा अन्य सम्माननीय दाताहरूको समेत उपस्थिति रहेको थियो।
सहयोगस्वरूप सुरेन्द्रप्रसाद वास्तोला र उनकी धर्मपत्नी पूजा वास्तोलालाई आजीवन सदस्यता प्रमाणपत्र समेत प्रदान गरिएको छ। समाजसेवामा सधैं अग्रसर रहँदै आएका वास्तोलाले अस्पतालजस्तो जनहितकारी संस्थामा सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि महसुस भएको बताएका छन्।
प्रतिष्ठानले यस्ता सहयोगले अस्पतालको सामाजिक सेवा प्रवाहमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा अन्य सहयोगदाताहरूलाई पनि सम्मान गरिएको थियो।
१५ शैयाको यो अस्पताल यसरीनै मनकारी चन्दादाताहरुको सहयोगवाट निर्माण भएको हो । करिव २० करोडको लागतमा निर्माण गरिएको अस्पतालकालागी अहिले सम्म झण्डै १० करोड रुपैया सकंल भएको छ ।