इटहरी– खनार युवा क्लबको आयोजनामा इटहरी–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा जारी “पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१” अन्तर्गत आजको चौथो दिनको खेलमा विराटनगरको बिराट बुद्ध भेट्रानले आयोजक टोली खनार युवा क्लबमाथि १–० को कठिन जित निकाल्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ।

खेलको एकमात्र निर्णायक गोल बिराट बुद्ध भेट्रानका जर्सी नम्बर ८ मदनजंग राईले दोस्रो हाफमा गरेका थिए। राईको तीखो प्रहार आयोजकका समर्थकका लागि निराशाजनक सावित भयो।

यद्यपि, आयोजक टोली खनार युवा क्लबले आफ्नो घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई निरन्तर दबाबमा राख्यो। विशेषगरी, जर्सी नम्बर ३२ सम्भु चौधरी र नम्बर ११ प्रदीप बस्नेतले खेलभरि नै जुझारु खेल देखाए। खनार युवा क्लबका खेलाडीले गोलका थुप्रै प्रयास गरे पनि विपक्षीको गोलकिपरले सबै आक्रमणलाई विफल पार्यो।

खेलको म्यान अफ द म्याच भने आयोजक क्लबका मुनरलाल सरदार घोषित भए। उनले मैदानमा देखाएको जोश, द्रुत गतिका पास र बल नियन्त्रणले दर्शकको मन जित्न सफल भए।

प्रतियोगिता अन्तर्गत भोली हुने सेमिफाइनल खेल मोरङको नेता चौक टायर भेट्रान र सुन्र भेट्रानबीच हुने आयोजकले जानकारी दिएको छ।

८ टिम सहभागी उक्त प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद रु। ५०,००० र उपविजेताले रु। ३०,००० प्राप्त गर्नेछन्। खनार युवा क्लबका अध्यक्ष नेमलाल चौधरीका अनुसार प्रतियोगिताले स्थानीयस्तरमा भेट्रान फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया