सुनसरी – कोशी प्रदेश सरकार अन्तर्गतका दुई महत्वपूर्ण मन्त्रालयहरूले बेरुजू असुल र नियमितीकरणको कार्यमा उल्लेख्य प्रगति गरेका छन्। प्रदेशका स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले सयौं लाखको बेरुजू रकम असुल गर्दै सुशासनप्रतिको प्रतिबद्धता देखाएका हुन्।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार हालसम्म मन्त्रालयले ३९ करोड ४७ लाख ९४ हजार रुपैयाँ बेरुजू मध्ये १३ करोड ८५ लाख २३ हजार रुपैयाँ नियमित गरिसकेको छ। यस्तै, असुल गर्नुपर्ने २ करोड २३ लाख ३९ हजार रुपैयाँमध्ये ५३ लाख १ हजार रुपैयाँ असुल भएको छ। मन्त्रालयले अझै १ करोड ७० लाख रुपैयाँ असुल गर्न बाँकी रहेको जनाएको छ भने २५ करोड ६२ लाख रुपैयाँ नियमित गर्न बाँकी छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत १४ जिल्ला स्वास्थ्य कार्यालय, १३ जिल्ला अस्पताल, स्वास्थ्य निर्देशनालय, आपूर्ति केन्द्र, प्रादेशिक अस्पताल, ट्रमा सेन्टर, आयुर्वेद अस्पताल र प्रयोगशालाहरू छन्। यद्यपि पाँचथर, ताप्लेजुङ, धनकुटा लगायतका केही कार्यालयले बेरुजू घटाउन उल्लेख्य प्रगति गर्न सकेका छैनन्।

स्वास्थ्य मन्त्रालय समेत सम्हाल्दै आउनु भएका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले भने, “सुशासनमा सम्झौता हुँदैन। हामी असार मसान्तसम्ममा सबै बेरुजू शून्यमा झार्नेछौं। सुशासन भनेको यही हो।”

त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयले समेत उल्लेख्य प्रगति गरेको छ। आर्थिक वर्ष २०८०र८१ सम्ममा मन्त्रालय तथा मातहतका १२ कार्यालयको असुल गर्नुपर्ने बेरुजू ३६ करोड ५१ लाख रुपैयाँ रहेकोमा हालसम्म १८ करोड ६० लाख रुपैयाँ असुल भइसकेको छ।

पूर्वाधार विकास कार्यालय मोरङ सबैभन्दा बढी बेरुजू भएको कार्यालय हो, जसमा १८ करोड ६२ लाख रुपैयाँ बेरुजू थियो। सो कार्यालयले १६ करोड १६ लाख रुपैयाँ असुल गरी उल्लेख्य योगदान दिएको छ। तर यातायात तथा पूर्वाधार विकास कार्यालय मोरङ, पाँचथर र संखुवासभा भने अझै बेरुजू असुल गर्न असफल भएका छन्।

भौतिक पूर्वाधार मन्त्रालयको नियमित गर्नुपर्ने बेरुजू रकम १ अर्ब ७४ करोड रहेको छ। हालसम्म २१ करोड २० लाख रुपैयाँ मात्र नियमित भएको छ। मन्त्री राईका अनुसार यो रकमलाई चालू आर्थिक वर्षको अन्त्यसम्म १ अर्बले घटाउने लक्ष्य राखिएको छ।

दुबै मन्त्रालयको प्रयासले कोशी प्रदेशमा सुशासनको दिशा प्रस्ट देखिएको छ। बेरुजू असुल र नियमितीकरणमा गरिएको तीव्र प्रयासले प्रदेश सरकारको कार्यसम्पादनप्रति जनविश्वास बढाउने जन अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया