सुनसरी /खनार युवा क्लबको आयोजनामा सञ्चालित “पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१” अन्तर्गत मङ्गलबार सम्पन्न तेस्रो दिनको खेलमा मोरङस्थित सुन्दर भेट्रान क्लबले दुहवी भेट्रानलाई १–० गोलअन्तरले पराजित गर्दै शानदार जित हात पारेको छ।
खेल सुरु भएको केही समयमै सुन्दर भेट्रानका जर्सी नम्बर ९ का खेलाडी गजेन्द्र घलेले गरेको गोल नै निर्णायक सावित भयो। उनको त्यस गोलले टिमलाई अग्रता दिलाएको थियो जुन खेलभर कायम रह्यो। घलेको सशक्त फिनिशिङले खेलमा उत्साह थपेको थियो भने सुन्दर भेट्रानको रणनीतिशील रक्षापंक्तिले दुहवीलाई बराबरीमा फर्कन नदिएको देखिन्थ्यो।
यद्यपि पराजय बेहोरे पनि दुहवी भेट्रानका जर्सी नम्बर ५ का सितल खा आजको खेलमा ‘म्यान अफ द म्याच’ घोषित भए। उनले देखाएको उत्कृष्ट खेल कौशल र मैदानमा गरेको योगदानले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। उनको रक्षात्मक खेलले धेरै गोलका अवसरहरूलाई रोक्न मद्दत पु¥याएको आयोजकको भनाइ छ।
प्रतियोगिता इटहरी–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा चैत ३० गतेसम्म सञ्चालन हुनेछ। सुनसरी र मोरङ जिल्लाका आठ वटा भेट्रान टिमहरूको सहभागिता रहेको प्रतियोगितामा विजेता टोलीले नगद रु. ५०,००० प्राप्त गर्नेछ भने उपविजेताले रु. ३०,००० नगद पुरस्कार हात पार्नेछ। साथै, उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, गोलकर्ता तथा उदयीमान (राइजिङ) खेलाडीलाई जनही रु. ५,००० नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
भोलि हुने खेलमा विराटनगरको विराट बुद्ध भेट्रान र आयोजक खनार युवा क्लब आमनेसामने हुने खनार युवा क्लबका अध्यक्ष नेमलाल चौधरीले जानकारी दिएका छन्।