सुनसरी, सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिको क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित चार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल बिओपी लौकहीको संयुक्त टोलीले विभिन्न समयमा शंकास्पद रूपमा भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका मोटरसाइकल सवार तथा पैदल यात्रुहरूलाई चेकजाँच गर्दा उनीहरूबाट लागूऔषधसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा मकवानपुर, हेटौडा उप–महानगरपालिका–११ थानाभर्‍याङ्गका ३२ वर्षीय राजेश लामा र सोही स्थानका २१ वर्षीय समिर क्षेत्री रहेका छन्। उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने १.४७ ग्राम (एक ग्राम चार सय सत्तरी मिलिग्राम) खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।                                                     

त्यसैगरी, मोटरसाइकल (प्र.१–०२–०५७ प २८४९) मा सवार मोरङ, केराबारी गाउँपालिका–१० का ३१ वर्षीय तेज बहादुर तामाङ र मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिका–७ की २७ वर्षीया फुलमाया लिम्बुको साथबाट १.८५ ग्राम (एक ग्राम आठ सय पचास मिलिग्राम) ब्राउन सुगर र नाइट्राजेपाम ट्याबलेट १० पिस बरामद गरिएको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

 

तपाईको प्रतिक्रिया