इटहरी,  — खनार युवा क्लबको आयोजनामा सञ्चालित “पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१” अन्तर्गत आज सम्पन्न दोस्रो दिनको खेलमा मोरङको उर्लाबारी भेट्रान क्लबले रोमाञ्चक जित हात पारेको छ। धरान भेट्रान क्लबसँग प्रतिस्पर्धा गर्दै उर्लाबारीले ३–२ को रोमाञ्चक जित निकालेको हो।

उर्लाबारीले खेलको सुरुदेखि नै आक्रामक रणनीति अपनाउँदै धरानलाई दबाबमा राखेको थियो। दुवै टोलीबीच प्रतिस्पर्धात्मक प्रदर्शन भए पनि निर्णायक क्षणमा उर्लाबारीले उत्कृष्ट फिनिशिङ गर्दै विजयी बनेको हो।   

आजको खेलमा ‘म्यान अफ द म्याच’ धरान भेट्रान क्लबका अमर गुरुङ घोषित भए। उनीद्वारा देखाइएको उत्कृष्ट खेल कौशलले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

प्रतियोगिता इटहरी–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा चैत ३० गतेसम्म सञ्चालन हुनेछ। सुनसरी र मोरङ जिल्लाका आठ वटा भेट्रान टिमहरूको सहभागिता रहेको प्रतियोगिताको विजेताले रु. ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु. ३० हजार नगद पुरस्कार जित्नेछ।

त्यस्तै, उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, गोलकर्ता तथा उदयमान (राइजिङ) खेलाडीलाई जनही रु. ५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।                   

भोलि हुने तेस्रो खेलमा दुहबी भेट्रान र मोरङ दुलारीको सुन्दर भेट्रान क्लब आमनेसामने हुनेछन्। खेलबारे जानकारी दिँदै खनार युवा क्लबका अध्यक्ष नेमलाल चौधरीले रोमाञ्चक भिडन्तको अपेक्षा गरिएको बताए।

 

तपाईको प्रतिक्रिया