इटहरी / नेपाली हिन्दू समुदायले आज चैत्र शुक्ल अष्टमीका दिन श्रद्धा, भक्तिसहित चैते दसैँ पर्व मनाउँदै छन्। घरघरमा नवदुर्गा भगवतीको पूजा आराधना गरिँदैछ भने शक्तिपीठहरूमा विशेष पूजाको आयोजना गरिएको छ।

हिन्दू धर्मशास्त्रअनुसार वर्षमा चारवटा नवरात्र पर्दछन्। तीमध्ये आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र प्रायः कम प्रचलनमा छन्। तर केही साधकहरूले ती अवधिमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्ने चलन कायमै राखेका छन्।

चैत्र र आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र भने विशेष महत्त्वका साथ मनाइन्छ। आश्विन महिनाको नवरात्रलाई ‘बडादसैँ’ भनिन्छ, जहाँ घटस्थापनादेखि टीका–जमरा ग्रहण गर्ने परम्परा रहिआएको छ।

त्यस्तै, चैत्र शुक्ल अष्टमीका दिन पर्ने चैते दसैँ पनि शक्ति आराधनाको पर्व हो। यस पर्वमा विशेषगरी अष्टमी र नवमी तिथिलाई विशेष रूपमा पूजाआजा गरिन्छ।

काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा चैते दसैँका अवसरमा विधिपूर्वक घटस्थापना गरिन्छ र अष्टमीको दिन बलि अर्पण गरिन्छ। धेरै घरपरिवारमा बडादसैँ जस्तो टीका र जमरा लगाउने चलन नभए पनि पूजा–आराधनाको माध्यमबाट देवीको कृपा प्राप्त गर्न प्रयास गरिन्छ।

चैत्र शुक्ल नवमीका दिन त्रेता युगमा भगवान् श्रीरामको जन्म भएको मानिँदा यस दिनलाई ‘रामनवमी’ का रूपमा पनि मनाइन्छ।

बडादसैँ जस्तै, चैते दसैँको पूजा–उपासनाको मुख्य उद्देश्य पनि यो लोकमा सुख, शान्ति र समृद्धि प्राप्त गर्नुका साथै परलोकमा सद्गतिको कामना गर्नु हो। यस अवसरमा परिवारजनबीच जमघट हुने र धार्मिक–सांस्कृतिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिन्छ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डा देवी लगायतका प्रमुख शक्तिपीठहरूमा विशेष पूजा, चण्डीपाठ र दर्शन भइरहेको छ।

त्यसैगरी उपत्यका बाहिरका पालाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना र कालिकादेवी लगायत शक्तिपीठहरूमा पनि चैत्र नवरात्रका अवसरमा श्रद्धालुहरूको भीड देखिएको छ।

चैत्र शुक्ल प्रतिपदादेखि दसैँघरहरूमा दुर्गा सप्तशती (चण्डी) पाठ, पूजाआजा र आराधना निरन्तर चलिरहेको छ। धार्मिक विश्वासअनुसार यस अवसरमा शक्तिपीठमा गई पूजा तथा दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ।

 

तपाईको प्रतिक्रिया