इटहरी / इटहरी उपमहानगरपालिकाले सहकारी संस्थाहरुद्वारा लिइएको ऋण नतिर्ने व्यक्तिहरूका लागि कडा कारबाहीको तयारी गरेको छ। नगरपालिकाले लामो समयसम्म ऋण नतिर्ने र अटेर गर्ने व्यक्तिहरूलाई प्रदान गरिने सरकारी सेवा सुविधा रोक्ने कानुन अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।
इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार, सहकारी संस्थाहरूबाट ऋण लिई समयमा तिर्न अटेर गर्नेहरूका लागि कडा कदम चालिन लागेको हो। साथै, गरिब जनताले बचत गरेको रकमको दुरुपयोग गर्ने सहकारीहरूलाई पनि कानुनी दायरामा ल्याइने बताइएको छ।
६८औं राष्ट्रिय सहकारी दिवसमा विशेष घोषणा
इटहरीमा आयोजित ६८औं राष्ट्रिय सहकारी दिवस २०८१ को साता व्यापी कार्यक्रमको समापन समारोहमा बोल्दै नगर प्रमुख पौडेलले सहकारी संस्थाहरूको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताए। उनले सहकारी संस्थाहरूबाट ऋण लिई नतिर्नेहरूलाई नगरपालिकाबाट दिइने सिफारिसलगायतका सेवा सुविधा रोक्ने निर्णय गरिएको जानकारी दिए।
उत्कृष्ट सहकारी संस्थाहरूलाई सम्मान
कार्यक्रममा इटहरी क्षेत्रका दुई उत्कृष्ट सहकारी संस्थाहरूलाई पुरस्कृत गरिएको थियो। हातेमालो महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड ९इटहरी वडा नम्बर १०० र शान्ति जनकल्याण बहुदेशीय सहकारी संस्था लिमिटेड ९इटहरी वडा नम्बर २०० लाई उत्कृष्ट सहकारी संस्थाको रूपमा सम्मान गरिएको छ।
इटहरीमा सहकारीको अवस्था
इटहरीमा हाल १२८ वटा सहकारी संस्था क्रियाशील रहेका छन्। यी संस्थाहरूको प्रभावकारी व्यवस्थापन, पारदर्शिता र ऋणीहरूको दायित्वबोध गराउने उद्देश्यले इटहरी उपमहानगरपालिकाले कडाइ गर्ने नीति लिएको हो।
सहकारी संस्थाहरूसँग सम्बन्धित व्यक्तिहरूले बचतकर्ताको हित सुरक्षित गर्न ध्यान दिनुपर्ने नगर प्रमुख पौडेलको भनाइ छ। सहकारी मार्फत भएको आर्थिक अनियमितता रोक्न नगरपालिकाले कडा निगरानी राख्ने र आवश्यक परेमा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ।