इटहरी, चैत १८ – कोशी प्रदेश सरकारले प्रदेश मातहतका मन्त्रालय, निर्देशनालय, र कार्यालयका प्राविधिक कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पुल निर्माण तथा सुपरिवेक्षणसम्बन्धी पाँच दिने तालिम सुरु गरेको छ। उक्त तालिम चैत १७ गतेदेखि सुनसरीको इटहरीमा सुरु भएको हो।

भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालयको आयोजनामा भइरहेको तालिममा आठ जना महिला र २७ जना पुरुष गरी ३५ जना सहभागी रहेका छन्। सहभागीहरूमा प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयका कर्मचारी, निर्देशनालयका प्रतिनिधिहरू, स्थानीय तहका इन्जिनियरहरू तथा निर्माण व्यवसायीका प्राविधिकहरू रहेका छन्।

प्रादेशिक सडक पुल सहयोग इकाइको प्रविधिक तथा आर्थिक सहयोगमा आयोजित यो तालिमले प्रदेशमा पुल निर्माण र सुपरिवेक्षणको गुणस्तर वृद्धि गर्ने विश्वास गरिएको छ। तालिम उद्घाटन सत्रमा मन्त्रालयका सचिव अशोक कुमार शाहले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे।

यस तालिममा सिकाइएका विधिहरूलाई व्यवहारमा लागू गर्न सकिएमा प्रदेशभर पुल निर्माणको गुणस्तर अझै राम्रो हुने अपेक्षा गरिएको प्रादेशिक सडक पुल सहयोग एकाइ कोशी प्रदेशका प्रमुख सूर्यनारायण चौधरीले बताउनुभयो !

तपाईको प्रतिक्रिया