
सुनसरी / सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मर्यादित रूपमा सञ्चालन नगरेको भन्दै चार शिक्षक गार्डलाई निष्कासन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले गढी गाउँपालिका(२ स्थित श्री सरस्वती मावि औरावनी परीक्षा केन्द्र र दुहबी(५ स्थित श्री सरस्वती मावि दुहबी परीक्षा केन्द्रमा अनियमितता भेटिएपछि कडा कारबाहीस्वरूप उनीहरूलाई हटाइएको हो।
निजी विद्यालयबाट पैसा लिएर चिट सहयोग
अनुगमनका क्रममा दुहबीस्थित सरस्वती मावि परीक्षा केन्द्रमा खटिएका दुई शिक्षकले परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको खुलासा भएको छ। उनीहरू निजी विद्यालयबाट प्रति विद्यार्थी रु। १०,००० को दरले परीक्षा पास गराइदिने प्रतिबद्धता जनाउँदै अनैतिक कार्यमा संलग्न भएको स्वीकार गरेका थिए। यो अनियमितता भेटिएपछि अनुगमन टोलीले तत्कालै उनीहरूलाई परीक्षा कार्यबाट हटाएको छ।
त्यस्तै, गढी गाउँपालिकाको औरावनी परीक्षा केन्द्रमा खटिएका दुई शिक्षकले पनि परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न नसकेको भन्दै उनीहरूलाई निष्कासन गरिएको छ।
परीक्षा केन्द्रका पदाधिकारीलाई चेतावनी
यस घटनापछि सरस्वती मावि दुहबी परीक्षा केन्द्रका केन्द्राध्यक्ष तेज प्रसाद तिमिल्सिना र कर्मचारी सजीप गुप्तालाई समेत सचेत गराइएको छ। सुनसरीका अन्य परीक्षा केन्द्रहरूमा भने परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस वर्ष सुनसरी जिल्लाबाट कुल १३,६६३ विद्यार्थी एसईई परीक्षा दिइरहेका छन्। दुहबीका तीन परीक्षा केन्द्रमा मात्र ५९५ जना परीक्षार्थी सहभागी छन्।
परीक्षामा शुचिताको प्रत्याभूति गर्न जिल्ला प्रहरी कार्यालय प्रमुख सुमन तिमिल्सिना, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना प्रमुख, इलाका प्रहरी कार्यालय ९ईप्रका० दुहबीका प्रमुख तथा स्थानीय सञ्चारकर्मीहरू समेत अनुगमन टोलीमा सहभागी थिए।
जिल्ला प्रशासन कार्यालयले निष्कासन गरिएका शिक्षक गार्डहरूको स्थानमा नयाँ शिक्षक गार्ड खटाइ परीक्षा सुचारु गराउने जनाएको छ। परीक्षा मर्यादित बनाउन कडा कदम चाल्ने प्रतिबद्धता जनाउँदै प्रशासनले अन्य परीक्षा केन्द्रहरूमा पनि निगरानी बढाइने जनाएको छ।





