सुनसरी / सडक दुर्घटनाको मुख्य कारण दुई पांग्रे मोटरसाइकल बन्न थालेपछि कोशी ट्राफिक प्रहरी कार्यालय, इटहरीले आजदेखि प्रदेशभर नै ट्राफिक सचेतना अभियान सुरू गरेको छ। पछिल्लो समय कोशी राजमार्गको छ लेन सडक तथा पूर्व–पश्चिम राजमार्गका मुख्य भागहरूमा भएका सडक दुर्घटनामा मोटरसाइकलको संलग्नता उच्च देखिएको छ।
कोशी प्रदेश ट्राफिक प्रहरीको पछिल्लो तथ्यांकअनुसार, मोटरसाइकल दुर्घटनाका मुख्य कारणहरूमा ओभरटेक गर्ने प्रवृत्ति, लेन अनुशासन नमानेर सवारी चलाउने बानी, र मदिरा सेवन ९मापसे० गरी मोटरसाइकल चलाउने व्यवहार प्रमुख रहेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका डीएसपी रामेश्वर त्वातेका अनुसार, यी कारणहरूले कोशी प्रदेशमा सवारी दुर्घटनाको दर बढिरहेको छ।
यस अवस्थालाई सुधार गर्न र दुर्घटनालाई न्यून गर्न, ट्राफिक प्रहरीले आजदेखि कोशी प्रदेशभर विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। मुख्य सडक खण्डहरूमा ट्राफिक प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ भने मोटरसाइकल चालकहरूलाई नियमपालनाका लागि विशेष रूपमा सचेत गराइएको छ।
सचेतना अभियानअन्तर्गत ट्राफिक प्रहरीले मोटरसाइकल चालकहरूलाई सडक नियमअनुसार सवारी चलाउन, अनावश्यक रूपमा तीव्र गति नगर्न, लेन अनुशासन पालना गर्न, र मापसे गरेर सवारी नचलाउन विशेष आग्रह गरेको छ। नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गरिने चेतावनी पनि दिइएको छ।
डीएसपी त्वातेका अनुसार, यो अभियानले सवारी चालकहरूमा अनुशासन कायम गर्ने र दुर्घटनाको दर घटाउने लक्ष्य राखेको छ। ूसडक सुरक्षा हाम्रो साझा दायित्व हो। नियमको पालना गर्दा मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ,ू उहाँले भन्नुभयो।
यो अभियान प्रदेशभर विभिन्न चरणमा सञ्चालन गरिनेछ। विशेष गरी सवारी चाप बढी हुने स्थानहरूमा ट्राफिक प्रहरीको सक्रिय उपस्थिति रहनेछ। साथै, सचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सडक किनारका डिजिटल बोर्डहरू, सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजन कार्यक्रमहरूसमेत प्रयोग गरिनेछ।
ट्राफिक प्रहरीले नागरिकहरूलाई सडक नियमको पालना गर्न, जिम्मेवार सवारी चालक बन्न, र दुर्घटनारहित यात्रा सुनिश्चित गर्न आग्रह गरेको छ।