विराटनगर, मोरङ जिल्लाको धनपालथान गाउँपालिका–६ कदमाहामा भीषण आगलागी हुँदा १६ घर जलेर नष्ट भएको छ। घटनामा परेर चार वर्षीया बालिका रेश्मा खातुनको मृत्यु भएको पुष्टि भएको छ भने प्रारम्भिक सूचनामा दुई बालबालिकाको मृत्यु भएको भनिए पनि एक बालक सकुशल फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार आगलागी नियन्त्रणमा ल्याउन दमकल, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरू सक्रिय रूपमा जुटेका थिए।

आगलागीको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। यस घटनाले स्थानीय बासिन्दाहरूलाई गहिरो आघात पुर्‍याएको छ भने प्रभावित परिवारहरू अहिले अस्थायी रूपमा बसोबास गर्न बाध्य भएका छन्।

प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक राहत तथा पुनर्स्थापनाको पहल गर्न स्थानीय प्रशासनसँग समन्वय भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया