विराटनगर– विराटनगरको रत्ना होटलस्थित क्यासिनो परिसरमा आइतबार मध्यराति एमाले मोरङ जिल्ला कमिटी सदस्य किरण लामा र रोनाल कँडेलको समूह तथा अभिषेक गिरीसहितको समूहबीच दोहोरो झडप भएको खुलेको छ।

प्रहरीका अनुसार झडप राति करिब १२ बजे भएको थियो। घटनास्थलमा प्रहरी पुग्दा दुवै समूह फरार भइसकेका थिए। झडपका क्रममा दुवै पक्षका केही व्यक्ति घाइते भएको बताइएको छ।

झडप कसरी सुरु भयो?

प्रहरी स्रोतका अनुसार अभिषेक गिरी राति रत्ना होटलको क्यासिनोमा थिए। सोही क्रममा किरण लामा र रोनाल कँडेल पनि त्यहाँ पुगेका थिए। पटक–पटक क्यासिनोमा विवाद गर्ने गरेको भन्दै बाउन्सरले लामासहितको समूहलाई प्रवेश गर्न रोकेको थियो।

तर, अभिषेक गिरीका भतिजा निकेश गिरी भने भित्र छिर्न सफल भएका थिए। यही विषयलाई लिएर किरण लामाले रिसाएर निकेश गिरीलाई हातपात गरे। सो घटना देखेपछि अभिषेक गिरी बाहिर निस्किए, र त्यसपछि दुवै समूहबीच झडप भयो।

मिटरब्याज धन्दादेखि राजनीतिक प्रभावसम्म

एमालेका जिल्ला कमिटी सदस्य किरण लामामाथि मिटरब्याज असुलीको धन्दा चलाएको आरोप लाग्दै आएको छ। उनी एमाले नेता पर्शुराम बस्नेतका नजिकका मानिन्छन् र बस्नेतकै राजनीतिक छत्रछायाँमा रहेका छन्।

त्यस्तै, रोनाल कँडेल भने कांग्रेस निकट मानिन्छन् र उनी सात पटक प्रहरी पक्राउ परिसकेका छन्।

प्रहरी अनुसन्धान र सुरक्षा कमजोरी

झडपपछि अभिषेक गिरीका भतिजा निकेश गिरीले किरण लामा र रोनाल कँडेलविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। मोरङ प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

स्थानीयवासीका अनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गर्न नपाउने कानूनी व्यवस्था भए पनि प्रहरी प्रशासनको कमजोरीका कारण नेताहरू निर्वाध रूपमा क्यासिनो धाउने गरेका छन्। यो घटनाले पनि सुरक्षाको गम्भीर चासो जन्माएको उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया