सुनसरी / सुनसरी जिल्लाको सप्तकोशी नदी किनारमा माझी समुदायले आफ्नो मौलिक पहिचान झल्काउने लदी पूजा भव्य रूपमा सम्पन्न गरेका छन्। प्रत्येक वर्ष फागुन महिनाको तेस्रो सातामा मनाइने यो पूजा माझी जातिको प्रमुख सांस्कृतिक चाड मानिन्छ, जसले समुदायको जलसंग जोडिएको परम्परा र आस्थालाई प्रतिबिम्बित गर्छ।

यस वर्ष माझी उत्थान संघ, सुनसरी को आयोजनामा पूर्वी नेपालभरका माझीहरू सप्तकोशी नदीको सिसौली घाट मा भेला भएर सामूहिक रूपमा पूजाआजा सम्पन्न गरेका थिए। आयोजक सदस्य यादव माझीका अनुसार, नदी पार गर्दा अनिष्ट नहोस्, नदी र प्रकृतिप्रति सम्मान प्रकट गर्न तथा समुदायको कल्याणका लागि लदी पूजा गर्ने परम्परा रहिआएको छ।

सप्तकोशी हाम्रो जीवन र संस्कृतिसँग गहिरो रूपमा गाँसिएको छ। नदीको क्रोध शान्त होस्, हाम्रो समुदाय सुरक्षित रहोस् भन्ने कामना गर्दै वर्षेनि विधिपूर्वक पूजा गरिन्छ। यो हाम्रो अस्तित्वसँग जोडिएको सांस्कृतिक निधि हो।ू

पूजाका क्रममा सप्तकोशी नदी किनारमा वैदिक मन्त्रोच्चारणसहित पूजा विधि सम्पन्न गरियो। परम्पराअनुसार पशु बलि दिने प्रथा कायम रहँदै आएको छ, जसलाई शुद्धिकरण र बलिदानको प्रतीक मानिन्छ। बलि दिइएको पशुको मासु आफन्त, इष्टमित्र, र पाहुनाहरूसँगै नदी किनारमै पकाएर सामूहिक भोज गर्ने चलन रहेको छ, जसले समुदायबीच एकता र आत्मीयता झन् बलियो बनाउँछ।

यसरी, लोपोन्मुख माझी समुदायले आफ्नो सांस्कृतिक सम्पदा जोगाउन र युवा पुस्तालाई परम्परासँग जोड्न लदी पूजालाई हर्षोल्लासका साथ निरन्तरता दिइरहेका छन्। प्राकृतिक स्रोतसंग आत्मीय सम्बन्ध राख्ने यो अनूठो परम्परा संरक्षण गर्न सके सांस्कृतिक विविधता झन् समृद्ध हुनेछ।

तपाईको प्रतिक्रिया