सुनसरी /इटहरीका मारवाडि समुदायले श्यामबाबा महोत्सवको पावन अवसरमा इटहरीदेखि विराटनगरसम्म २५ किलोमिटरको पैदल यात्रा सम्पन्न भएको छ। मरवाडि समुदायका सयौ महिला, पुरुष र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको यो यात्राले धार्मिक आस्था र एकताको प्रतीक प्रस्तुत गरेको छ ।
फागुन महिनामा मनाइने समुदायको प्रमुख उत्सवको रूपमा श्यामबाबा महोत्सवलाई भव्य रूपमा मनाउने परम्परा अनुसार यस वर्ष पनि भक्तजनहरूले हातमा रातो झण्डा र श्यामबाबाको चित्र अंकित पहेँलो ध्वजासहित यात्रा गरेका थिए। रंगीन पोशाक, श्रद्धा र उमंगले भरिपूर्ण वातावरणले यात्रा झन् विशेष बनेको थियो ।
यो उत्सवले समाजमा सकारात्मक ऊर्जा र सांस्कृतिक चेतना ल्याउने विश्वास रहेको श्याम भत्त परिवारका अगुवा राजेश अग्रवालले बताउनु भयो ।
श्यामबाबा महोत्सवको सुरुवात भारतको राजस्थान स्थित खाटू गाउँबाट भएको मानिन्छ । महाभारतका अनुसार, बर्बरीकले आफ्नो बलिदान दिएपछि श्रीकृष्णले उनलाई कलियुगमा श्यामको रूपमा पूजित हुने वरदान दिएका थिए । त्यसै वरदानको प्रतीकका रूपमा श्याम जी प्रति श्रद्धा प्रकट गर्न मारवाडी समुदायले यो परम्परा बसालेका हुन् ।
खासगरी इटहरी, विराटनगर, वीरगञ्ज लगायतका ठाउँहरूमा श्यामबाबाको पैदल यात्रा, भजनकीर्तन, झाँकी आदिको आयोजना गरिन्छ ।

तपाईको प्रतिक्रिया