सुनसरी — यातायात व्यवस्था कार्यालय इटहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन अनिवार्य स्वास्थ्य परीक्षणको नाममा केही चिकित्सकहरूले मापदण्ड विपरीत कार्य गरेको आरोप लागेपछि छानविन प्रक्रिया सुरु गरेको छ ।
उजुरीपछि आन्तरिक रूपमा अनुसन्धान अघि बढाइएको र प्रदेश सरकारसँग समन्वय गरेर सत्यतथ्य पत्ता लगाउने प्रयास भइरहेको छ ।
कार्यालय परिसरभित्र नै निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध हुँदाहुँदै, प्रदेश सरकारले सूचीकरण प्रक्रिया पूरा गरेका अन्य स्वास्थ्य संस्थालाई पनि परीक्षणको जिम्मा दिएको थियो । तर, केही सूचीबद्ध चिकित्सकहरूले अनावश्यक शुल्क लिने, परीक्षण प्रक्रियामा लापरवाही गर्नेलगायत नियमविपरित गतिविधि गरेको आरोपमा सेवाग्राहीहरूले उजुरी दर्ता गराएका छन् ।
सूचीबद्ध चिकित्सकहरू डा. रुपेश कुमार यादव, डा. सरोज कुमार मण्डल, र डा. सुदीप लेखीविरुद्ध गम्भीर अनियमितताको आरोप लगाइएको छ । सेवाग्राहीहरूका अनुसार, स्वास्थ्य परीक्षण गर्दा बिना जाँच नै प्रमाणपत्र दिने, अनावश्यक शुल्क माग्ने र कतिपय अवस्थामा मापदण्ड पूरा नभएका व्यक्तिहरूलाई समेत लाइसेन्सका लागि योग्य देखाउने कार्य भइरहेको जस्ता आरोप लगाइएको छ । सम्बद्ध चिकित्सकहरु अनाधिकृत काम गरेको भन्दै उजरी दर्ता गराउने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, सुनसरीका अध्यक्ष होमनाथ धमलाले सवैले सर्व सुलभ र पारदर्सि सेवामा पाउनु पर्नेमा प्रदेश सरकार र यातायात व्यवस्था कार्यालय इटहरीको बदनियत बदमासी देखिएको बताए ।
कारबाहीको माग
यातायात कार्यालयमा दिनहुँजसो सेवाग्राहीहरू गुनासो लिएर पुग्न थालेपछि कार्यालय प्रमुख सतिस सत्यालले प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पत्राचार गर्दै तुरुन्त छानविन गर्न माग गरेका छन् । सत्यालले भने, “हामीले उजुरी परेपछि तत्काल सम्बन्धित निकायमा जानकारी गरायौं। सेवाग्राहीहरूको विश्वास संरक्षण गर्न हामीले प्रक्रिया छिटो अघि बढाइरहेका छौं।“
सेवाग्राहीको पीडा
इटहरीका रामेश्वर चौधरीले भने, “स्वास्थ्य परीक्षण गर्न लाइनमा बसेको थिएँ, तर ५०० रुपैयाँ तिरेपछि एकैछिनमै काम भयो । केही नजाँच्ने, सीधा काम हुने रहेछ ।
यस्तै, बेलबारीकी संगीता गिरीले स्वास्थ्य मापदण्ड पूरा नभएर दोहोर्याएर परीक्षण गर्नुपर्ने भनिए पनि पैसा तिरेपछि उस्तै रिपोर्ट फेरि आएको बताइन