सुनसरी — आराध्यदेव भगवान् शिवको पूजा–आराधनाका लागि हिन्दू धर्मावलम्बीहरूले हर्षोल्लासका साथ मनाउने महाशिवरात्रि पर्वका अवसरमा सुनसरी जिल्लाका विभिन्न शिवालयहरूमा विहानैदेखि भक्तजनहरूको ठूलो घुइँचो लागेको छ।
विशेषगरी, धरानस्थित प्रसिद्ध पिण्डेश्वर मन्दिर, इनरुवाको खनारस्थित स्वर्वेश्वर शिव मन्दिर, तथा दुहवीको शिव मन्दिरमा विहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ। भक्तजनहरू शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो, र अन्य पूजन सामग्रीहरू अर्पण गर्दै शिवजीको कृपा प्राप्त गर्ने कामना गरिरहेका छन्।
यसै अवसरमा दुहवीको १० नम्बर वडास्थित चरैया शिव मन्दिर परिसरमा विशेष रूपमा वृहत मेलाको आयोजना गरिएको छ। उक्त मेलामा स्थानीयवासीका साथै टाढा–टाढाबाट आएका श्रद्धालुहरू सहभागी भई शिवमहिमा गाउने, भजनकीर्तन गर्ने, र धार्मिक प्रवचन सुन्ने गर्दछन्।
महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र र महत्वपूर्ण चाड हो। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिव र शक्ति (पार्वती)को दिव्य मिलनको रातका रूपमा पनि वर्णन गरिन्छ। धार्मिक मान्यताअनुसार, सृष्टिको प्रारम्भकालमा यसै रात भगवान् शिव रुद्रका रूपमा ब्रह्माबाट अवतरित भएका थिए। त्यस्तै, प्रलयकालमा यसै दिन प्रदोष बेलामा भगवान् शिवले ताण्डव नृत्य गर्दै आफ्नो तेस्रो नेत्रको ज्वालाबाट सम्पूर्ण ब्रह्माण्डलाई समाप्त गर्ने विश्वास रहिआएको छ।
यसै कारणले यस पवित्र रातलाई महाशिवरात्रिु अथवा कालरात्रिु भन्ने गरिन्छ। यस रातभर जाग्राम बसी शिव नामजप गर्दा मनोकामना पूर्ण हुने धार्मिक विश्वास छ। शिवरात्रिको अवसरमा शिवालयहरूमा दीप प्रज्वलन, भजन, आरती, र कथा वाचनका कार्यक्रमहरू आयोजना गरिन्छन्।
महाशिवरात्रि भगवान् शिवको महिमा गाउने, आत्मशुद्धि गर्ने, र अध्यात्मिक उन्नति खोज्ने अनुपम अवसर हो। यसले भक्तजनहरूलाई संयम, भक्ति, र शान्ति प्राप्त गर्न प्रेरित गर्छ। सुनसरीका शिवालयहरूमा देखिएको भक्तजनहरूको उत्साहले शिवप्रेम र धार्मिक आस्थाको उज्ज्वल चित्रण गरेको छ।