इटहरी । इटहरी उपमहानगरपालिकाको प्रशासन शाखामा उपप्रमुखले लगाएको ताला पालिका प्रमुखले फुटाइदिएका छन् । गत ११ माघमा उपप्रमुख संगीता चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख हेमकर्ण पौडेलले १३ दिनपछि बुधबार ताला फुटाएका हुन् ।
पौडेल कांग्रेसबाट निर्वाचित मेयर हुन् । केन्द्रमा कांग्रेस–एमालेबीच सत्ता सहकार्य चलिरहे पनि इटहरीमा दुई पार्टीका जनप्रतिनिधिबीच बेमेल छ । ताला फुटाएपछि उनले विज्ञप्ति जारी गर्दै सहमतिमा अघि बढ्नका लागि बोलाइएको छलफल निष्कर्षमा नपुगेपछि ताला फोडिएको स्पष्ट पारेका छन् ।
‘कर्मचारी ट्रेड युनियनहरूद्वारा आन्दोलनको कार्यक्रमसहित प्रेस विज्ञप्ति जारी भएको अवस्थामा २२ माघ २०८१ मा मेरो कार्यकक्षमा उपप्रमुखसहित जनप्रतिनिधिहरूसँग समस्या समाधानका निम्ति छलफल भएको थियो,’ विज्ञप्तिमा नगरप्रमुखले लेखेका छन्, ‘तर, प्रशासन शाखामा लगाइएको ताला खोल्ने विषयमा सहमति हुन सकेन ।’
उनले ११ माघदेखि लागेको ताला नखुल्दा कार्यलयको दैनिक कामकाजमा समेत बाधा पुगेको, वडा कार्यालयहरूको सेवासमेत प्रभावित भएको हुनले स्थानीय सरकार प्रमुखको नाताले नगरबासी र सेवाग्राहीको समस्यालाई हृदयङ्गम गर्दै प्रशासन शाखामा लगाएको ताला फोड्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
गत ११ माघमा वडा कार्यालयको सर्भर डाउन गरिदिएपछि उपमेयरसहित एमालेका वडाध्यक्षहरुसँग प्रशासन शाखा प्रमुख सञ्जीव खड्काको भनाभन भएको थियो । भनाभनपछि जनप्रतिनिधिले खड्कालाई बाहिर निकालेर उनको कार्यकक्षमा ताला लगाइदिएका थिए ।
यस्तो छ लफडाको कारण
कर्मचारी र एमालेबाट निर्वाचित जनप्रतिनिधिको लडफाको कारण कर्मचारीको सरुवा हो । गत २८ पुसमा मेयर हेमकर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले ७७ जना कर्मचारीको सरुवा गरेका थिए ।
कर्मचारी सरुवाको निर्णयपछि पौडेल उपमेयर संगीताकुमारी चौधरीलाई कार्यबाहक दिएर बिदा बसे । उनी १३ गते आइतबार मात्रै कार्यालयमा हाजिर भए ।
कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै ३ माघमा उमपेयर चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टाएको थियो । कर्मचारी सरुवा गर्दा मेयर पौडेलले छलफल नगरी कांग्रेसले नेतृत्व गरेको वडा नम्बर १,६ र १३ सहितका वडाबाहेक एमालेले नेतृत्व गरेका वडाका कर्मचारीको सरुवा गरेको एमाले जनप्रतिनिधिको गुनासो छ ।
विवाद बढ्दै जाँदा तालाबन्दीसम्मको अवस्था आएको थियो । उपमेयरले कर्मचारीको कोठामा तालाबन्दी गरेपछि लिखित रूपमा माफी माग्नुपर्ने भन्दै उपमहानगरका कर्मचारी आन्दोलित भएको थिए । प्रमुख पौडेलले ताला फुटाएपछि भने कर्मचारीले आन्दोलन फिर्ता लिएका छन्