सुनसरी / नेपालकै इतिहासमा पहिलोपटक खोटाङको दिक्तेल बजारमा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिँदै छ ।

नेपालमा खेर गइरहेका बाँसलाई उपयोगमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारीकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माटिकोरे खेल मैदानमा फागुन १५, १६ र १७ गते बाँस सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनको आवश्यकता

छिमेकी मुलुक चीन, भारतसँगै विश्वका विभिन्न मुलुकले बाँसलाई आम्दानीको स्रोत बनाइरहेका छन् तर नेपालको तराई मधेसदेखि पहाडसम्म प्राकृतिक रुपमै बाँस हुने गरे पनि यसको सही प्रयोग हुन सकेको देखिंदैन ।

नेपालमा आन्तरिक उत्पादनभन्दा आयातित सामग्रीको प्रयोग बढ्दो छ । वन मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा मात्रै पनि बाँसबाट बनेका सामग्री एवं फर्निचर प्रयोग गर्ने हो भने धेरै कृषकको आम्दानीका स्रोत बन्ने नगर प्रमुख तीर्थराज भट्टराई बताउँछन् ।

बाँसको महत्व, धार्मिक, सांस्कृतिक हिसाबले यसको उपयोगिता लगायतका विषयमा आमनागरिकलाई सूचित गराई बाँसबाट आर्थिक उन्नति गर्न सकिन्छ भनी राज्यलाई झक्झक्याउन इतिहासमै पहिलोपटक बाँस सम्मेलन आयोजना गर्न लागिएको नगरप्रमुख भट्टराईले बताए ।

सम्मेलनको तयारी

नगर प्रमुख भट्टराईका अनुसार देश÷विदेशका बाँस विज्ञ तथा व्यवसायी सहभागी हुने सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम पनि गरिएको छ । सातवटै प्रदेशका बाँसबाट हस्तकला निर्माण गर्ने, फर्निचर बनाउने, बाँसका विज्ञ, बाँसको क्षेत्रमा काम गरिरहेका व्यापारी, व्यवसायी र काम गर्ने बाँसकर्मीहरुलाई स्टल निःशुल्क गराउने व्यवस्था गरिएको उनले बताए ।

प्रदेशस्तरीय कार्यक्रम गरी सरोकारवाला, सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक सङ्घसंस्था तथा को सल्लाह, सुझाव र चुनौती बटुलेर सम्मेलनका लागि योजना समेत बनाइँदै छ ।

व्यवसायिक खेती

व्यवसायिक रुपमा निकै कम खेती भएको छ । ठूला उद्योगहरूका लागि पर्याप्त नभए पनि बाबुबाजेले रोपेर फैलिएका ७५ भन्दा बढी प्रजातिका बाँसले पाँचदेखि दश वर्षलाई खपत धान्न समस्या नपर्ने नगर प्रमुख भट्टराई बताउँछन् ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा बाँसको व्यवसायिक खेती प्रारम्भ भएको छ । धुलिखेलमा चीनबाट ल्याइएको ७५ फिटसम्म अग्लो हुने बाँसको व्यवसायिक खेती भइरहेको छ । रेसादार हुने भएकाले यो बाँसबाट कपडा समेत बनाइन्छ । यस्तैगरी कास्कीमा ४० ५० बिघामा बाँसको खेती गरिएको छ ।

बजारीकरणमा समस्या

देशका विभिन्न स्थानमा बाँसको व्यवसायिक खेती सुरु भए पनि बजारको उचित व्यवस्था नभएको उत्पादकले गुनासो गरेका छन् । बाँस सम्मेलनमा बजारीकरणमा राज्यको नीति निर्माण लगायतका सन्दर्भमा छलफल गरिने भट्टराईले बताए ।

राज्यले नीति नबनाउँदा बाँसको बजारीकरणमा समस्या देखिएको उनको भनाइ छ । ‘न्यूनतम रूपमा सरकारी कार्यालयमा बाँसको फर्निचर खपत गर्ने रणनीति राज्यले अपनाउनुपर्छ तर बाँसको सदुपयोग गर्न राज्यले किन कन्जुस्याइँ गरिरहेको छ भनेर हामीले अभियान थालेका छौं भट्टराईले भने‚ ‘स्थानीय सामग्रीको प्रयोग प्रवर्द्धनको अभियानअन्तर्गत नगरपालिकाबाट राष्ट्रपतिदेखि राज्यका सम्माननीयलाई एक थान कुर्सी र एक थान टेबल उपहार दिने निर्णय गरिएको छ ।’

बाँसको कामका लागि आवश्यक जनशक्ति पनि कम छ । यद्यपि राज्यले नीति बनाएर बाँसको उत्पादन, सामग्री बनाउने क्षेत्रमा युवा रोजगारी बढाउन सक्ने सरोकारवाला बताउँछन् ।

नेपालमा बाँस
तीनदेखि ३० मिटरसम्म अग्लो हुने बाँसका १४०० प्रजाति छन् र विश्वमा ५०० प्रजातिका बाँसको व्यवसायिक खेती गरिएको विभिन्न तथ्यांकले देखाउँछ ।
नेपालमा बाँसबाट डोको, नाङ्लो, डालो, पाथी, पेरिङ्गो, थुन्से, चाल्नो, मान्द्रो, चित्रा, भकारीसँगै फर्निचरका सामान बनाइन्छ । बाँसको तामाका तरकारी, अचार लगायत विभिन्न परिकार बनाएर समेत खाने गरिन्छ भने घर, गोठ लगायतमा बारबेरका लागि पनि बाँस प्रयोग गर्ने चलन छ ।

कम लगानीमा हुर्कने छिट्टै बढ्ने वनस्पतिका रूपमा रहेको बाँस बाँस सिँचाइ नहुने र बाँदर लाग्ने ठाउँमा पनि गोडमेल बिना नै सप्रिन्छ । बाँस रोपेर बाढीपहिरो एवं भूक्षय रोक्न सकिने विज्ञ बताउँछन्

तपाईको प्रतिक्रिया