सुनसरी / धरानमा खानेपानीको शुल्क र महसुल बढाइएपछि आन्दोलनरत विभिन्न १० राजनीतिक दल र उपभोत्ताहरुले धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।
चरणबद्ध आन्दोलनमा रहेका उनीहरूले बिहीबार कार्यालय समय अगावै उपमहानगरपालिका कार्यालयको गेटमै भेला भएर घेराउ गरेका हुन । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका उपभोक्ता तथा दलका कार्यकर्ता र प्रहरीबिच धकेला धकेल भएको छ ।
उपमहानगरको गेटबाट भित्र छिर्न खोजेका प्रदर्शनकारीलाई रोक्न खोज्दा प्रहरीसँग सामान्य झडप भएको हो । प्रदर्शनकारीले हर्क साम्पाङ मुर्दावाद, जङ्गली मेयर राजीनामा दे , धराने जनता एक हौ लगायतका नारा लगाउँदै प्रदर्शन गर्दा कार्यालयको काम ठप्प भएको एक कर्मचारीले जानकारी दिए । प्रदर्शनकारीले चर्को नाराबाजी गर्दै आन्दोलन चर्काएपछि कार्यालय परिसर भित्रै थुनिएका नगरप्रमुख साम्पाङले आन्दोलनरत पक्षका प्रतिनिधिहरूलाई आइतबार वार्ताको लागि बोलाएका छन् ।
शुल्क र महसुल बढाइएपछि विभिन्न १० राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । साउन ११ गते धरानमा क्रियाशील रहेका राजनैतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए । अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि राजनैतिक दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन ।
उनीहरूले यसअघि खानेपानीको पुरानै महसुल कायम गर्न माग गरेका छन् । खानेपानी व्यवस्थापन बोर्ड धरान उपमहानगर अन्तरगत छ । बोर्डको अध्यक्ष उपमहानगरका नगरप्रमुख रहने व्यवस्था छ । खानेपानी बोर्ड सञ्चालनमा समस्या भएको भन्दै बोर्डका अध्यक्ष साम्पाङगले विभिन्न शुल्क र खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशत सम्म वृद्धि गरेको गरेपछि धरानका राजनीतिक दलहरू आन्दोलित बनेका हुन ।
आन्दोलनरत उनीहरूले विभिन्न सरोकारवाला सङ्घसंस्थाहरूसँग अन्तरक्रिया, वडा कार्यालयहरूमा ध्यानाकर्षण र खानेपानी बोर्डको धरान कार्यालयमा धर्ना तथा तालाबन्दी गरेका थिए । तर तालाबन्दी नगर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि खानेपानी बोर्डमा लगाएको ताला खोली उनीहरूले बिहीबार देखी धरान उपमहानगरपालिकाको कार्यालय केन्द्रित आन्दोलन चर्काएका हुन ।

तपाईको प्रतिक्रिया