गोली लागेर तीन घाइते

सुनसरी,१७ माघ । सुनसरीको खनार स्थित प्रहरीको गोली लागि तीन जना घाइते भएका छन । लुटपाट, डकैटी र लागुऔषध कारोबारमा संम्लग्न रहेको आरोपमा पक्राउ गर्न खोज्दा भागेपछी प्रहरीले उनीहरुमाथि गोली प्रहार गरेको हो । घाइते तीनै जनालाई उपचारका लागी बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ ।


घाइते हुनेमा मोरङ्गको टङ्की सिनुवारीका श्रवण सरदार, इटहरी १३ खनारका करिश्मा भनिने शुभलाल सरदार र मोरङ्ग नोचाका सतन पासवान रहेका छन् । घाइते श्रवणको बायाँ तिघ्रामा गोली लागेको छ । शुभलाल सरदारको दुवै खुट्टामा र सतन सरदारको पनि दुवै खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । एक महिनादेखी मोरङको रंगेली, रानी र सुनसरीको दुहबीमा भएको श्रृंखलाबद्ध डकैटीको घटनामा उनीहरुको संगलग्नता रहेको सुनसरी प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिनु भएको छ ।


उनीहरुलाइ पछ्याने क्रममा रहेको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरको अपराध अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय सुनसरीको बिशेष टोलीले उनीहरुलाई गोली हानेको हो । धरान तर्फ लागूऔषध लिएर जाँदै गरेको सुचनाको आधारमा उनीहरुलाइ ढुकेर प्रहरीको बिशेष टोली खनारमा बसेको थियो । तर नहरको बाटो गरेर उनीहरु भागेपछि गोली चलाएको प्रहरीको दावी छ । प्रहरीले एघार राउण्ड गोली चलाएको स्थानीयले बताएका छन् । घटना स्थलमा लागू औषध समेत फेला परेको छ । सुनसरीको खनार चोकबाट पश्चिम तर्फ एकम्बा जाने बाटोमा भएको घटना स्थलमा मोटरसाइकल समेत बरामद भएको छ । उनीहरु मोटरसाइकलमा चढेर भागेपछि जवाफी कारवाही गरेको प्रहरी उपरिक्षक पोषराज पोखरेलले जानकारी दिनु भयो ।

को हुन् शुभलाल उर्फ करिश्मा

सुनसरीको इटहरी उपमहानगरपालिका वाडा नम्बर १३ का स्थाई बासिन्दा शुभलाल सरदार आफूलाई करिश्मा चौधरीका नामले चिनाँउछन् । उनी एक बर्ष अघि मात्रै ज्यान मुद्यामा जेल परेर छुटेका थिए । २०५८ सालमा सुनसरीको सोनापुर स्थित जुटमिलमा रहेको रेष्टुरेन्टमा कुकको रुपमा कार्यरत पाँचथर रानीगाँउका अशोक लिम्बुको हत्या गरेको अभियोगमा जेल परेका थिए । सो हत्यामा शुभलालसँगै अरु पनि जेल चलान भएका थिए । जेलबाट छुट्ने बित्तिकै उनी आपाराधिक क्रियाकलापमा सम्लग्न रहेको प्रहरीको दावी छ । एक महिना अघि रङ्गेलीमा भएको डकैतीमा पनि शुभलालको सम्लग्नता देखिएको प्रहरीले दावी गरेको छ ।

तपाईको प्रतिक्रिया