काठमाडौं। संर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बनेका देउवाले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले साउन २९ गते भित्र विश्वासको मत लिनुपर्ने थियो। तर, उनले समय धेरै नकुरेर एक हप्तामै विश्वासको मतको प्रस्ताव संसदमा दर्ता गराएका छन्।

संसदमा दोस्रो ठूलो नेपाली काँग्रेसका सभापति देउवाले संसदमा विश्वासको मत पाउँछन् कि पाउँदैनन्। भन्ने प्रश्न छ। र यसको उत्तर नेकपा एमालेको माधव समूहले के गर्छ रु भन्ने प्रश्नको उत्तरमा भेटिन्छ। माधव समूहले देउवाको पक्षमा मतदान गरे देउवा सरकारले निरन्तरता पाउँछ र संसद पनि जोगिन्छ। यदि माधव समूहले समर्थन गरेन भने देउवा सरकार पनि रहँदैन, संसद पनि रहँदैन। तर, चुनाव भने देउवा सरकारले नै गराउँछ।

यस्तो पेचिलो प्रश्नका बीच संसदमा कुन दलको अवस्था के छ भन्ने विषय महत्वपूर्ण हुन्छ। संसदमा सबैभन्दा ठूलो दल नेकपा एमाले हो। उसको १२१ सिट छ। यस्तै दोस्रो ठूलो दल काँग्रेसको ६३ सिट छ। तर, उसका दुई सांसदले मतदान गर्न पाउँदैनन्। यस्तै तेस्रो ठूलो दल माओवादी केन्द्रको ५० सदस्य छन्। तर अग्नि सापकोटा सभामुख भएकाले उनले मतदान गर्न पाउँदैनन्। यस्तै दुई समूहमा विभाजित रहेको जनता समाजवादी पार्टीको ३४ सिट भए पनि उसका ३२ सांसदलेमात्र मतदान गर्न पाउँछन्।

यस्तै राप्रपा १ र राजमोका १ सांसद छन्। र स्वतन्त्र एकजना छन् जसले माओवादी केन्द्रलाई समर्थन् गर्छन्।

संसदको यो गणितमा अहिले सरकारमा दुई दल सहभागी छन् भने एक सिट भएको राजमो र जसपा तथा एमालेको एक एक समूहले समर्थन जनाइरहेको छ।

सरकारमा रहेका काँग्रेस र माओवादीका गरेर मतदान गर्न पाउने सांसदको संख्या १०९ हो। यस्तै एक स्वतन्त्र र राजमोले पनि समर्थन गरेकाले अहिले सत्ता गठबन्धनसँग स्पष्ट १११ सिट देखिएको छ। २०७५ सदस्यीय प्रतिनिधिसभा अहिले २७१ सदस्यीय कामय छ। ४ सिट रिक्त छ। त्यसैले प्रधानमन्त्री देउवाले विश्वासको मत मागेको प्रस्ताव पारित हुन कम्तिमा १३६ सिट आवश्यक पर्छ। सत्ता गठबन्धनसँग स्पष्ट १११ सिटमात्र देखिएकाले उसले कम्तिमा थप २५ सिटको समर्थन हासिल गर्नुपर्छ।

गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सरकार बनाउने दावी गर्दा देउवाको समर्थनमा १४९ सांसदले हस्ताक्षर गरेका थिए। त्यतिबेला सत्ता गठबन्धनका १११, एमालेका माधव पक्षीय २६, जसपाका १२ जनाले हस्ताक्षर गरेका थिए। तर, सर्वोच्चमा रिट दायर गर्दा यो संख्या घट्यो। एमालेका ३ जनाले रिटमा हस्ताक्षर गरेनन्, मात्र १४६ जनाको हस्ताक्षरमा रिट दायर भयो।

अब देउवाले विश्वासको मत लिँदा एमालेको माधव पक्षीयले के गर्छन् भन्ने विषय सबैभन्दा महत्वपूर्ण बनेको छ। एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलमा रहेका माधव पक्षीय ४ जना सांसदले विश्वासको मत दिने सम्भावना न्युन देखिएको छ। तर, अन्य सांसदहरुले भने विश्वासको मत दिने बताइसकेका छन्।

त्यसैले माधव समूहबाट देउवाले १९ मत पाउने अपेक्षा गरिएको छ। माधव पक्षका १९ जनाले समर्थन गरेपछि समर्थक सांसदको संख्या १३० पुग्छ। अझै यो सरकारलाई थप ७ सिट आवश्यक पर्छ। यसमा जसपाको उपेन्द्र समूहले सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेकाले देउवा सरकारले सजिलै समर्थन पाउने देखिन्छ।

जसपा उपेन्द्र समूहको शनिबार बसेको संसदीय दलको बैठकमा १७ जना सांसदहरु सहभागी रहेको गरिएको छ। यसअनुसार देउवाले विश्वासको मतको पक्षमा १४७ सिट पाउन सक्ने सम्भावना देखिएको छ। तर, माधव समूहले के गर्छ भन्ने विषय अन्तिमसम्म सस्पेन्समा रहने देखिएकाले आइतबार प्रतिनिधिसभाको दृष्य रोचक हुने देखिन्छ।

तपाईको प्रतिक्रिया