सुनसरी, सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना संक्रमणमुक्त भएर १३ जना डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा मोरङका १२ जना पुरुष छन् भने एक जना झापाका पुरुष छन् । उनीहरुको उमेर १५ देखि ४१ बर्षको रहेको छ । उनीहरुमध्ये मोरङका ८ जना जेठ २८ गते, मोरङकै ४ जना जेठ ३१ गते र झापाका एक जना जेठ ३१ गते भर्ना भएका थिए ।

प्रतिष्ठानमा हाल ६३ जना आइसोलेसनमा उपचाररत अवस्थामा रहेको प्रतिष्ठानले जनाएको छ । हालसम्म प्रतिष्ठानबाट उपचार पश्चात डिस्चार्ज हुनेको कुल संख्या १२८ पुगेको पनि प्रतिष्ठानले जानकारी दिएको छ ।

यसै विच धरान १७ को एन्फा क्वारेनटाइनमा बस्ने २ जना महिलामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले दिएको जनाकारी अनुसार धरानको क्वारेनटाइनमा रहेका २ जना महिला र कोसी क्वारेनटाइनमा बस्ने १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

एन्फा क्वारेनटाइनमा रहेका दुई जना महिला ज्येष्ठ २९ गते काठमाडौँ आइपुगेको र ३२ गते एन्फा क्वारेनटाइनमा आइपुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बतानु भयो । सुनसरीमा ३ जना कोरोना पुष्टि भएका सबै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा पिसिआर परीक्षण भएको हो ।

तपाईको प्रतिक्रिया