सुनसरी ।सुनसरीको दुहवि नगरपालिका ८ स्थित सोनापुरमा रहेको राधाकृष्ण मन्दिरको विवादस्पद जग्गा विक्रि प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।
मन्दिरको १४ कट्ठा जग्गा बिक्रीमा कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व छली गरेको भन्दै आयोगले मालपोत कार्यालय इनरुवाका प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा, मालपोतका शाखा अधिकृत मात्रिका दंगाल, नासु गोविन्द पौडेल, दुहबी नगरपालिका–८ का अध्यक्ष तारिकचन्द्र सरदार, मन्दिर व्यवस्थापन समितिबाट अख्तियारी पाएका उपाध्यक्ष उज्याला मानन्धर, जग्गा खरिदकर्ता गोविन्दकुमार बजगाईँविरुद्ध मुद्दा दायर भएको हो ।
मन्दिरको नाममा रहेको जग्गा दुई वर्षअघि बजगाईँलाई बिक्री गरिएको थियो । सुरुमा सो जग्गा बजगाईँको नाममा पास गरे लगत्तै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रहेका मानन्धरले आफैँ खरिद गरेका थिए । सात लाख ७१ हजार प्रतिकठ्ठाका दरले बिक्री गर्ने निर्णय भएकोमा जग्गा बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर पाँच लाख २१ हजार पाँच सय, रजिस्ट्रेसन शुल्क तीन लाख ७७ हजार एक सय ५० गरी आठ लाख ९८ हजार चार सय पाँच रुपैयाँ राजस्व छली गरेको अभियोग छ ।
दुहबी नगरपालिका–८ का वडाध्यक्ष तारिकचन्द्र सरदारले राधाकृष्ण मन्दिरको नाममा रहेको जग्गा भित्री बाटोले छोएकोमा सिफारिसमा बाटोले नछोएको भनी गलत सिफारिस दिएका थिए । जसबाट रजिस्ट्रेसन र पुँजीगत लाभकर छल्न सहज भएको थियो । उनी विरुद्ध नौ लाख १९ हजार एक सय २८ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

मालपोत कार्यालय इनरुवाका प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा विरुद्ध सात लाख ५५ हजार ६ सय २० रुपैयाँ बिगो दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया