कृष्ण अधिकारी
०७ सालमा प्रजातन्त्र आउँदा क्रान्तिकारीहरुप्रति जनताको ठूलो भरोसा थियो । किनभने राणातन्त्रको उत्पीडनबाट मुक्त गरेका थिए क्रान्तिकारीहरुले मुलुकलाई त्यसैले ०१५ सालको आमनिर्वाचनमा लगभग सबै मत काङ्ग्रेसलाई अथवा क्रान्तिकारीलाई दिए जनताले । ०४७ सालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्थापना गर्ने संविधान जारी हुँदा पनि ठूलो भरोसा थियो बहुदलवादीहरुसँग । किनभने शासनको सर्वोच्चता जनतामा आएको थियो । त्योभन्दा पहिलेको शासनमा राजाको सर्वोच्चता थियो । राजा र राजपरिवारलाई कानुनले छुन सक्ने थिएन । त्यही राजाको सर्वोच्चताको दुहाई दिएर पञ्चहरु अपञ्चहरुलाई दबाउँथे र दोस्रो दर्जाको नागरिकको व्यवहार गर्थे । पुलिस रिपोर्ट बिगारिदिन्थे र जागिर खान दिँदैन थिए । पासपोर्ट बनाएर विदेश जान दिँदैन थिए । त्यसैकारण पञ्चायतप्रतिको भरोसा टुटेको थियो जनतामा र नै जनआन्दोलन सफल भयो । जनताले बहुदलवादीहरुलाई समर्थन गरे । त्यसपछि बनेका सरकारहरुसँग फेरि जनआस्था टुट्तै गयो, जनताको मन र भरोसा टुक्रिँदै गयो । त्यसैको आडमा माओवादी फस्टायो । जनआन्दोलनबाट आएको सरकारले भ्रष्टाचार नगरेको भए, नातागोतालाई राष्ट्रिय ढिकुटी लुट्न नदिएको भए, नेता र कार्यकर्ता जनमुखी भएको भए माओवादीको चटके भड्काउमा लाग्ने थिएनन् जनता । अन्ततोगत्वा २०÷२२ वर्षे आयुमै धरापमा प¥यो पुनस्र्थापित बहुदलीय व्यवस्था । त्यसपछाडि राजालाई नारायणहिटी दरबारबाट निकालेर गणतन्त्रको घोषणा गरियो । त्यसबेला पनि गणतन्त्रवादीहरु माथि जनताको ठूलो भरोसा देखियो । अब २ सय ४० वर्षे राजतन्त्र मासियो, देशमा रामराज्य हुन्छ भन्ने आशा पलायो जनतामा । ढिलो चाँडो संविधान आयो । निर्वाचन भयो । स्थानीय सरकार बन्यो । फेरि निर्वाचन भयो । प्रान्तीय र केन्द्रीय सरकार बन्यो । ०१५ सालको आमनिर्वाचनमा जसरी नेपाली काङ्ग्रेसलाई अत्यधिक मत दिए मतदाताले, त्यसैगरी मत दिए कम्युनिष्टहरुलाई जनताले । ०७ साले क्रान्तिको नायक काङ्ग्रेस थियो, त्यसैले प्रचण्ड बहुमत पायो उसले । गणतन्त्रपछि जनताले के अर्थ लगाए भने गणतन्त्रको नायक कम्युनिष्ट हुन् । त्यसैले उनीहरुले कम्युनिष्टलाई प्रचण्ड मत दिए । दुई तिहाईको सरकार बन्यो । त्यसका प्रधानमन्त्री केपी ओली छँदैछन् । अर्का नेता प्रचण्ड प्रधानमन्त्रीको ‘हट सिट’ मा उक्लिन दुवै खुट्टा उचालेर हावामा पुगेका छन् तर एकाएक कम्युनिष्ट पार्टीको सरकारबाट जनताको भरोसा सकिएको छ । गुटगत कार्यकर्ताको भरोसा मात्र बाँकी रहेको छ । गम्भीर भएर सोच्ने बेला आएको छ । यो सरकार माथि जनताको भरोसा किन स्खलित भयो र अब के हुन्छ ? यो सरकार र यो प्रणाली असफल भयो भने त्यसपछि के आउँछ ? पञ्चायती कालखण्डमा नानी मैया दाहाल, गोल्छे सार्की र थरेन्द्र ढकालहरुलाई जनताले मत हालेको घटना अहिले जस्तो लाग्छ । किन हाले त तिनीहरुलाई मत ? किनभने पञ्चहरु र पञ्चायतको शासनलाई मन नपाराउने जनमत बढ्दै गएको थियो र त्यही जनमतले पञ्चायतलाई व्यङ्ग्य गर्न र धज्जी उडाउन ती उम्मेद्वारहरुलाई मत दिएका थिए । आज त्यही पुनरावृत्ति भइरहेको छ । मान्छेहरुलाई के लागेको छ भने यो सरकारबाट जनताको हित हुन सकेन । यो सरकारले सुशासन ल्याउन सकेन । यो सरकार आफैंले बोलेका र भनेका बाचाहरुबाट भागिसक्यो । प्रधानमन्त्रीको भनाई र गराईमा तालमेल भएन । व्यङ्ग्य, चुट्किला र उखानले जनतालाई अलमल्याउने काम मात्र भयो । प्रधानमन्त्रीका हरेक व्यङ्ग्य र उखान मलाई नै भनेको हो भन्ने अनुभूति गरे जनताले । निर्मला बलात्कार र हत्या, ३३ किलो सुन, भू–माफिया, मेडिकल माफिया, सिण्डिकेट असफलता, वाइडबडी प्रकरण, भ्रष्टाचार, मूल्य वृद्धि, करको पासो आदिमा सरकार पटकपटक चुकेको देखे जनताले । दिनानुदिन आफूलाई ग्यास च्याम्बरतिर सरकारले नै धकेलेको अनुभूति हुन थालेपछि जनताले रवि लामिछाने खोज्न थाले, रमेश खरेल खोज्न थाले, कुसलमान घिसिङलाई भगवान मान्न थाले । के कुरा सत्य हो भने उल्लेखित मान्छेहरुले जस्तै सरकारका मान्छेहरुको चरित्र भएको भए, जनताको पक्षमा काम गर्ने भएका भए, जनताले केपी ओली र प्रचण्डलाई नै भगवान मान्ने थिए तर दुर्भाग्य त्यसो हुन सकेन र सरकारप्रति, केपी ओलीप्रति जनताको भरोसा निख्रिँदै गयो र रवि लामिछानेको पछाडि जनमत उभिन पुग्यो । सरकारलाई भन्दा जनताले न्याय पाएन, उद्दार भएन तर रवि लामिछानेलाई भन्दा न्याय पायो मान्छेले । त्यसैकारण प्रधानमन्त्री ओलीलाई छाडेर मान्छेहरु रवि लामिछानेतिर लागेका छन् । सरकारको चरित्रमा सुधार नआउने हो भने जनता राजातिर पनि लाग्न सक्छन् । त्यो दिन आयो भने त्यसको जिम्मेवार केवल नेपालको कम्युनिष्ट सरकार ठहर्नेछ । केपी ओली र प्रचण्डहरु दोषी ठहर्ने छन् ।

तपाईको प्रतिक्रिया