सन्तोष यादव

सुनसरी / घर छेउकै खेतमा धान रोप्न गएकी इटहरी उपमहानगरपालिका–१२ खनारकी शर्मिला सरदार घर आइपुग्दा नपुग्दै हातखुट्टा चिलाउन थाल्यो । हेर्दाहेर्दै शरीरमा जताततै पानीफोका निस्किन थाले ।
सँगै रहेको उद्योगबाट निस्किएको फोहर तथा रसायनयुक्त पानी खेतको हिलोमा मिसिएका कारण सरदारको शरीरमा यस्तो स्वास्थ्य समस्या आइलागेको हो । फोहर पानी टेकेर जाँदा सुरुमा छाला चिलाउने र चिलाएको ठाउँमा पानीफोका आउने, काउछो दले जस्तो असह्य हुन थालेपछि सरदार स्थानीय स्वास्थ्य केन्द्रमा पुगिन् । डाक्टरले दिएको औषधि एक हप्ता प्रयोग गरेपछि निको भयो । ‘अहिले खेतको पानीमा टेक्न डर लाग्छ,’ उनले भनिन्, ‘फ्याक्ट्रीको पानीले खेतमात्र होइन ज्यान पनि बिग्रेला भन्ने डर भो ।’
सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा पर्ने इटहरी, खनार, सोनापुर, दुहवी क्षेत्रमा कारखानाबाट निस्किएका, अनेक प्रकारका रसायन मिसिएका विषाक्त पानीको दुस्प्रभाव दिनदिनै बढ्दो छ । एक साताअघि स्थानीय बूढीखोलाको पानी खाएर केही गाईहरू मरेका थिए । त्यसको केही महिनाअघि सोही खोलाको पानी खाएलगत्तै सिकिस्त बिरामी परेका दुहवी–१ का नौ वर्षीय अजमुल हुसेनको उपचारका क्रममा मृत्यु भएको थियो ।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका प्रायः सबै उद्योगको फोहर तथा विषाक्त पानी विनाप्रशोधन स्थानीय बूढीखोलामा निर्वाध रूपमा मिसाइन्छ । त्यस्तो फोहर तथा विषाक्त पानी केही उद्योगले पाइप तथा ह्वीमपाइप प्रयोग गरी सोझै बूढीखोलामा मिसाएका छन् भने धेरैजसोले वरपरका खेत, नाला, खोल्सामा फोहर तथा विषाक्त पानी त्यत्तिकै छोडिदिने गर्छन्, जुन बग्दै गएर बूढीखोलामा मिसिने गर्छ ।
कारखानाले निस्कासन गर्ने फोहर तथा विषाक्त पानीका कारण अनेक किसिमका स्वास्थ्य समस्या देखिने, गाईबस्तुहरू मर्ने, मानिसको मृत्युसमेत हुने भएपछि कारखाना व्यवस्थापनविरुद्ध बेलाबेलामा स्थानीय विरोधमा समेत उत्रिने गरेका छन् । उनीहरू सरोकारवालाको ध्यानाकर्षण तथा समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने, कारखानाअघि धर्ना दिने, नाराबाजी गर्नेलगायत विरोध प्रदर्शन गर्ने गर्छन् । तर प्रदूषणको समस्या ज्युँका त्युँ छ ।
फोहरकै विषयलाई लिएर केही महिनाअघि खनारका स्थानीय र रिलायन्स स्पिनिङ मिल्सबीच द्वन्द्व चर्केको थियो । त्यसलगत्तै अरिहन्त प्याकेजिङ उद्योगबाट विनाप्रशोधन विसर्जित पानी खाँदा गाई मरेपछि स्थानीय र उद्योग सञ्चालकबीच झमेलामात्र भएको थिएन, विवाद मुद्दा–मामलासम्म पुगेको थियो ।
स्थानीय उद्योग र पीडितबीच द्वन्द्व हुँदा समस्या समाधानका लागि दुहवी नगरपालिकाले आफ्नै पहलमा दुवै पक्षबीच छलफलसमेत चलाउने गरेको छ । बालक मृत्यु प्रकरणपछि पीडित परिवार र करिडोरका उद्योग प्रतिनिधिबीच भएको छलफलमा सहभागी उद्योग प्रतिनिधिहरूले फोहर पानी प्रशोधनपछि मात्र निष्कासन गर्ने प्रतिबद्धता जनाएका थिए । तर प्रतिबद्धताअनुसार अहिलेसम्म काम नभएको स्थानीय युवा अख्तर हुसेन बताउँछन् । ‘खाली तत्कालीन विरोध प्रदर्शन मत्थर पार्न मात्र यस्ता प्रतिबद्धताहरू हुने गर्छन्,’ उनले भने, ‘यथार्थमा यहाँका उद्योगीहरू विषाक्त फोहरका कारणले बिग्रिरहेको स्थानीयको स्वास्थ्य तथा वातावरणप्रति अलिकति पनि गम्भीर छैनन् ।’
करिडोरको उद्योगबाट निस्कने रसायनहरू टेङ्ग्रा, बूढीलगायत स्थानीय खोला–खोल्सामा प्रशोधनविना छाड्ने क्रम दिनादिनै बढिरहेको छ, जसको प्रत्यक्ष नकारात्मक असर स्थानीयको जनस्वास्थ्य र दैनिक जीवनमा परिरहेको छ । इटहरीको अरिहन्त प्याकेजिङ उद्योग, रिलायन्स स्पेनिङ मिल्स, कुलायन ब्याट्रीलगायत उद्योग छेउमा बस्नेहरू यो समस्याबाट बढी नै पीडित छन् । यस क्षेत्रका प्रायः मानिसमा छातीको सङ्क्रमण तथा छालासम्बन्धी रोगबाट ग्रसित छन् । खनार उपस्वास्थ्य चौकी प्रमुख चिकित्सक माधव रेग्मीका अनुसार यहाँका मानिस छालासम्बन्धी रोगबाट विशेष रूपमा सङ्क्रमित छन् ।
करिडोरका उद्योगले सामान्यदेखि मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिने विषालु ग्याससमेत जथाभावी विसर्जन गर्ने गरेका छन् । त्यसमध्ये प्लास्टिकका सामग्री उत्पादन गर्ने उद्योगले मानव स्वास्थ्यका लागि हानिकारक मानिने फ्ल्युरेड नामक विषालु पदार्थ उत्सर्जन गर्ने गर्छ । जिल्ला विकास समितिको वातावरण शाखाआबद्ध रहेर लामो समयदेखि प्रदूषण न्यूनीकरणका क्षेत्रमा सक्रिय वातावरणविज्ञ पुष्पनारायण चौधरीका अनुसार फ्ल्युरेड रसायनको सम्पर्कले मानिसमा क्यान्सरसमेत हुने गर्छ ।
उद्योगले प्रयोग गर्ने इन्धनको आधारमा फोहर कति हानिकारक भन्ने निक्र्योल हुने चौधरीले बताए । उनका अनुसार सामान्यतया उद्योगहरूले कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रेजन, एरोमेटिक, लिड अक्साइडलगायत हानिकारक पदार्थ उद्योगले विर्सजन गर्ने गर्छन्, जुन मानव स्वास्थ्य प्रतिकूल पदार्थहरू हुन् ।
उद्योगहरूबाट हुने वातावरण प्रदूषणको प्रत्यक्ष मारमा इटहरी क्षेत्रका पाँच हजारभन्दा बढी मानिस परेका छन् । औद्योगिक करिडोरमा यति धेरै मानिस वातावरण प्रदूषणको मारमा पर्दासमेत यस क्षेत्रका स्थानीय सरकारहरूले न्यूनीकरणका लागि कुनै ठोस योजना तथा नीति सार्वजनिक गर्न सकेका छैनन् । इटहरी उपमहानगरपालिकाले वातावरण शाखा स्थापना त गरेको छ । तर यसको काम पनि प्रभावकारी देखिएको छैन ।

श्रमिक पनि चपेटामा
यस क्षेत्रका प्रायः स्थानीयमात्र होइन, कारखानामा काम गर्ने मजदुरहरूमा पनि छालासम्बन्धी सङ्क्रमणको दर उच्च छ । व्यवसायसँग सम्बन्धित स्वास्थ्य–सावधानीबारे उनीहरू सचेत छैनन् । औद्योगिक क्षेत्रमा स्वास्थ्य जोखिम कम गर्न विभिन्न उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ । तर यहाँका मजदुरहरू त्यसबारे अनभिज्ञ छन् ।
यहाँको औद्योगिक क्षेत्रमा सिमेन्ट, छाला, प्लास्टिक, केमिकल, साबुन, वनस्पति, औषधिजस्ता उद्योगहरू छन् । ती उद्योगहरूको चरम लापरवाहीले स्थानीय पानीको स्रोतमा समेत जोखिम र प्रदूषण थपिएको छ । पानीको स्रोतमा प्रदूषणको मार थपिँदा सेराफेरोका बासिन्दासहित स्थानीय श्रमिकहरू बढी प्रभावित भएको पाइएको छ । खनार उपस्वाथ्य चौकी प्रमुख रेग्मीका अनुसार उद्योग–कारखानाका कारण स्वास्थ्यसम्बन्धी धेरै प्रकारका जटिलता लिएर बिरामीहरू उपचार केन्द्र आउने गरेका छन् ।
उद्योगको फोहर पानीले मुटुको चाल परिवर्तन, झाडापखाला, आँखा दुख्ने जस्ता समस्याहरू बढी मात्रामा हुने गरेको रेग्मीको भनाइ छ । ‘औद्योगिक क्षेत्रभित्र मानव स्वास्थ्यका लागि कामदारहरूले अपनाउनुपर्ने सुरक्षा उपायसमेत खासै अपनाएको हामी पाउँदैनौं,’ रेग्मी भन्छन्, ‘बढ्दो प्रदूषण र स्वास्थ्यसम्बन्धी सचेतनाको अभावका कारण धेरैको स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ ।’ खनारमा हरेक महिना चर्मरोगका सयभन्दा बढी बिरामी आउने गर्छन् । बढ्दो प्रदूषणले छालासम्बन्धी रोगका अतिरिक्त आँखा पाक्ने, मुटुको समस्या, श्वास–प्रश्वास घटबढ हुने बिरामीको सङ्ख्या वर्षपिच्छे बढिरहेको रेग्मीले बताए ।
मुलुकको पहिलो आर्थिक राजधानी मानिने सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा साना–ठूला गरी दुई हजार पाँच सयभन्दा बढी कलकारखाना सञ्चालित छन् । तीमध्ये इटहरीका एक सय ५८ सहित सुनसरीमा एक हजार ६ सय साना, मझौला तथा ठूला उद्योग रहेका छन् । २०३२ सालयता औद्योगिक करिडोरका रूपमा विकसित यो क्षेत्रका प्रायः उद्योगहरू वातावरण प्रदूषणको मुख्य कारक बनेका छन् । अधिकतर उद्योगहरूले वातावरणीय मापदण्ड पूरा गरेका छैनन् । वातावरणविज्ञ पुष्पनारायण चौधरीका अनुसार यस क्षेत्रका प्रायः उद्योग वातावरणीय मूल्यांकनविनै सञ्चालित छन् । ती उद्योगहरूले विद्यमान कानुन उल्लङ्घन गर्दै वातावरणमा गम्भीर नकारात्मक असर थपिरहेका छन् ।
कलकारखाना देश विकासका मेरुदण्ड मानिन्छन् । तर त्यही कलकारखाना अव्यवस्थित र कानुनी व्यवस्था बेवास्ता गर्दै सञ्चालन गरिँदा वातावरण विनाशमात्र होइन असामयिक मृत्युको कारकसमेत बन्ने गर्छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरका कलकारखानाका कारण यस भेगका खोलानालाको जीवनसमेत समाप्त भइरहेको छ । स्थानीय टेङ्ग्रालगायत खोलाहरू ढलमा परिणत हुँदै गएका छन् ।
खोलानालामा निरन्तर भइरहेको प्रदूषण वृद्धिका बारेमा विभिन्न समयमा अनुगमन भए पनि त्यो औपचारिकतामा मात्र सीमित हुने गरेको छ । सुरुमा वातावरणीय मापदण्ड पूरा गरे पनि सञ्चालनसँगै उद्योगहरूबाट लापरबाही र क्षतिको अनुगमान तथा कारबाहीको प्रक्रिया फितलो देखिन्छ । प्रदूषण फैलाउने कारखानाहरूलाई कानुनी दायरामा ल्याउन सकिएको छैन ।

चरम लापरवाही, थपिँदो जोखिम


सुनसरी–मोरङ करिडोर क्षेत्रमा १० वर्षयता औद्योगिक प्रदूषण झन् बढेको छ । तर प्रदूषण कम गर्नेतिर उद्योगहरूको रुचि देखिएको छैन । इटहरी उपमहानगरपालिकाले गरिरहेको वातावरणीय अध्ययनअनुसार उद्योगहरूले विसर्जन गर्ने फोहर पानीको प्रदूषणीय प्रभाव कम नगरी सोझै स्थानीय टेङ्ग्रा खोला, बूढी खोला तथा नाला–पैनीहरूमा मिसाउँदा यो क्षेत्रको जनस्वास्थ्य–स्थिति दिनदिनै कमजोर हुँदै छ ।
अनुगमनले उद्योगहरूले नदीमा गरेको प्रदूषणले मानव स्वास्थ्यसँगै नदी, वातावरण, गौचरण क्षेत्रमा गम्भीर असर परेको देखाएको छ । नदीमा गरिने स्नानबाट समेत यहाँका बासिन्दा वन्चित छन् । खनार उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध घिमिरेले उद्योगको फोहर पानीका कारण बूढीखोलामा शवको दाहसंस्कारपछि मलामीहरू खोलामा ननुहाई घरमै गएर नुहाउने गरेका छन् । अहिले भइरहेको अनियन्त्रित प्रदूषण र जथाभावी दोहनका कारण स्थानीय खोलाहरूमा जलचरहरू हराइसकेका छन् ।
यस क्षेत्रका बूढी तथा टेङ्ग्रा खोला प्रदूषित बनाउन जिम्मेवार उद्योगहरूलाई कानुनबमोजिम कारबाही हुनुपर्ने सङ्घका पदाधिकारीहरूको धारणा छ । जुन उद्योगले पैसा कमाउँछ, त्यसले प्रशोधन केन्द्र स्थापना गर्नुपर्छ भन्ने आफूहरूको स्पष्ट धारणा रहेको उपाध्यक्ष घिमिरेले बताए । धेरै उद्योगले उद्योग परिसरमा होइन कागजमा प्रशोधन केन्द्र स्थापना गरेको देखिएको उल्लेख गर्दै घिमिरेले भने, ‘यस्ता उद्योग कारबाहीको भागीदार हुनुपर्छ । वातावरण प्रदूषण अरू सरोकारवालाहरू जस्तै उद्योगीहरूको पनि सरोकारको विषय हो ।’
वातावरण संशोधन ऐन २०५३ मा वातावरण प्रतिकूल हुनेगरी कुनै पनि उद्योग–धन्दाले फोहर–मैला निष्कासन गर्न नपाउने कुरा उल्लेख छ । कुनै उद्योगले ध्वनि तथा वातावरण प्रदूषण गरे त्यस्तो उद्योगलाई ५० हजारदेखि एक लाख रूपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको अधिवक्ता मणिराज दुलालले बताए । वैकल्पिक उपाय नअपनाएसम्म प्रदूषणको कारक बनेका उद्योग बन्द गर्नेसमेतको व्यवस्था ऐनमा गरिएको छ ।
दुलालका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन गराएर मात्रै उद्योग खोल्न पाइन्छ । यदि यो नगराई वा नियमविपरीत सञ्चालन गरिएको पाइएमा पनि उल्लिखित कारबाही हुने व्यवस्था ऐनमा छ । तथापि सुनसरी–मोरङ करिडोरमा रहेका अधिकतर उद्योग ऐनमा भएको व्यवस्थाविपरीत सञ्चालन भइरहेका छन्, जसका कारण यो क्षेत्रको वातावरण तथा जीवनमा दिनदिनै जोखिम थपिँदो छ ।

तपाईको प्रतिक्रिया